बर्दियामा स्थानीय प्रशासनको एकसय वर्षको विकास

— अयोध्या प्रसाद श्रीवास्तव

बर्दियाको प्रशासनिक इतिहासलाई केलाउँदा सर्वप्रथम सम्पूर्ण देशको प्रशासनिक ढाँचामाथि एउटा विहंगम दृष्टि हाल्नुपर्ने हुन्छ । राणा शासन काल अर्थात वि.सं. २००७ सम्म नेपाल देश ३५ ओटा प्रशासनिक इकाईमा बाँडिएको थियो । जसको प्रशासन प्रमुखका रुपमा राणा परिवारका व्यक्तिहरु हुन्थे र ती प्रशासनिक कार्यालयहरुलाई गोश्वारा भनिन्थ्यो यस्का अतिरिक्त अरु केही साना एकाईहरु थिए जस्लाई गढी र गौंडा भनिन्थ्यो । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर क्षेत्र जंग बहादुर राणालाई ब्रिटिश भारतबाट सन् १८६०(वि सं.२०१६) मा प्राप्त भएको उपहार “नयाँ मुलुक” भनिएकोले यो नयाँ मुलुकको शासन प्रशासन अलि भिन्नै प्रकृतिको थियो । भारतमा अँगे्रजी शासनका विरुद्ध सन् १८५७ मा भएको सैनिक क्रान्तिलाई दबाउनकालागि ब्रिटिश गवर्नरले नेपालका श्री ३ जंगबहादुर राणासंग सहयोग मागदा गोरखाली फौजले ब्रिटिश शासनलाई सहयोग प्रदान गरि विजय गराए बापत ब्रिटिश शासनले खुशी भएर जंगबहादुर राणालाई यो भूक्षेत्र उपहार दिएको थियो । यस कारण यो भूक्षेत्र राणा परिवारको बिर्ता अर्थात निजी सम्पत्ति थियो र यो परिवारले बाँके र बर्दियालाई एक एकाई मानेको र कञ्चनपुर कैलालीलाई एक एकाई मानेको यी दुइ प्रशासनिक एकाई थिए । “बाँके–बर्दिया” “ कैलाली—कंचनपुर ” नामोच्चारण एक साथ हुन्थ्यो ।
बाँके बर्दियाको प्रशासनिक सदरमुकाम नेपालगञ्ज थियो । नेपालगञ्जमा राणा परिवारको एक जना “बडा हाकिम” हुन्थे, जसको हुकुम र नीति निर्देशनले यो भूभागमा प्रशासन यन्त्र सञ्चालित हुन्थ्यो । तर प्रशासनिक अधिकारी एक भए पनि स्थानीयता दुइवटा भएकाले “बाँके माल” र “बर्दिया माल” नामका स्थानीय प्रशासनका दुइवटा छुट्टा छुट्टै स्थानीय एकाई हुन्थे । यिनलाई “बाँके बिर्ता माल” र बर्दिया बिर्ता माल भनिन्थ्यो ।
बर्दिया बिर्ता माल कहिले खडा भयो भन्ने कुरा ठोस यकीन गर्ने श्रोत यहाँ उपलब्ध हुन सकेन तर बाँके बर्दिया भूक्षेत्र ब्रिटिश भारत को नानपारा रियासत अंतरगत रहेकोले अँगे्रजले यो क्षेत्र जंगबहादुरलाई दिंदाका बखत अति दुर्गम जंगल झाडी भएकोले राणा परिवारले स्वयं आवाद गुलजार गराउने परिस्थिति नहुँदा केही वर्ष सम्म उनीहरुले नानपाराको राजालाई नै ठेक्का दिन्थे र राजाका कामदारहरुले मालपोत उठाउने गर्दथे भन्ने कुरा जमुनीका एक बृद्धले बताए र नानपारा रियासतले बनाएको इनारको अवशेष पनि देखाए । उनले धेरै पछिमात्र सम्भवतः वि सं.१९६० ताका राणाहरुले भूमि आवाद गुलजार गराउने तर्खर गरेर कुम्भरमा बिर्ता माल अड्डा स्थापित गरे होलान् भनि अनुमान गर्दछन् । कुम्भर माल अड्डा काठै काठको बनेकोले अड्डा नभनेर यसलाई कठमहला भन्ने गरिन्थ्यो ।
वर्तमान बर्दियाको भूभाग मध्ये गेरुवा नदी खैरी चन्दनपुर देखि भिम्भापुर कर्णाली नदी सम्मको दक्षिणी भाग अर्थात आजको नेपाल भारत सीमा देखि उत्तर को भाग बाहेक अरु समस्त भूभाग नेपालमा गाभिसके पश्चात पनि यो भूमि नानपारा राजाको ठेक्कामा थियो भन्ने कुरा मतंगाका अब्बासअली धोबीले बताउँछन् । इनले नानपारा रियासतका राजाका प्रतिनिधि—नवाबले यो भूमिमा नीलको खेती गराएर हालको गुजरहना गाउँ नजीक सरजू नदी भएकोले त्यहाँ फ्याक्टरी लगाका थिए र बसोबास भने हालको कोटही मंदिर देखि दखिन पश्चिम बेलौली मौजाको थुम्का मा थियो भन्नु हुन्छ । अंग्रेजहरुबाट लखनऊको नवाब बन्दी बनाए पछि उनकी कोई रानी बेलौलीमा आएरबसेकी थिइन् र पछि काठमाण्डौ गइन् भनेर श्री किशोर कुमार गौतमले बताउनु हुन्छ । सो ठाउंमा पहिले देखि नानपारा राजाका प्रतिनिधि नवाब बसने हुनाले नै लखनऊ की रानी यहाँ आएको हुनु पर्दछ । कालान्तरमा नवाबले तिरो बुझाउन नसके पछि इनलाई कुम्भर माल (कठमहला)ले पक्राउ गरी काठको घोडामा बसालेर दण्डित गरे पछि नवाबका धोबी अलादीन धोबी (अब्बासअलीका जिजु बाजे) ले युक्ति गरी छुटाएका थिए,त्यस पछि नवाब नानपारा गए बर्दियामा नील खेती बन्द भयो भन्ने अब्बास धोबीको भनाई छ । यसरी कुम्भरमा माल अड्डा सं.१९९२ साल सम्म रहेको हुनु पर्दछ भन्ने कुरा उक्त माल अड्डाका तत्कालीन नापी कर्मचारी (पछि पटवारी भएका)कमला प्रसाद कायस्थका वयोबृद्ध छोरा द्वय कुम्भरमा वि.सं.१९८३ मा जन्मनु भएका सत्यनारायणलाल र १९९२ सालमा जन्मनुभएका जयनारायणलालले बताउनु हुन्छ ।
यो कुम्भर मालले सर्वप्रथम यो जिल्लाको “सरपट नापी” (भूमिको सरसर्ती नापी) वि.सं. १९६७÷६८ मा ग¥यो । बर्दिया क्षेत्र पनि अन्यत्र सरह तप्पामा विभक्त थियो । हालको गा.वि.स. सरह । कुम्भर तप्पे रजहटमा पर्दथ्यो । तप्पाभित्र मौजाहरु (गाँउ) हुन्थे । मौजा जमिनदारको अधीनमा हुन्थ्यो र जमिनदारलाई सहयोग गर्नकालागि मालबाट “पटबारी” हरु नियुक्त हुन्थे जसले जग्गाको नामसारी, लगत तयारी, मालपोत असूली लगायतका सबै किसिमका आर्थिक र प्रशासनिक कामहरु गर्दथ्यो । बर्दियामा वर्षेनी जति मालपोत असूली हुन्थ्यो, त्यो रकम मालका कर्मचारीहरुल्ो भारतको मूर्तिहामा रेल चढेर भारतको गोरखपुरको बाटो हुँदै हप्ता दश दिनमा काठमाडौ पु¥याएर राणा प्राइमिनिस्टरका हजुरमा दाखिला गर्दथे । राणा प्राइमिनिस्टरको बिर्ता (निजी) क्षेत्र भएकोले यो क्षेत्रको सम्पुर्ण धन माथि प्राइमिनिस्टरको अधिकार हुन्थ्यो । भारतले टनकपुर बाँधकोलागि नेपाली भूमि लिएर सट्टामा खैरी चंदनपुर र भिम्भापुरको दक्षिणी भाग नेपाललाई दिएको सट्टा पट्टा कागजमा १३ जनवरी १९२९ ( वि.सं १९८६ पौष २९्।३० गते नेपाल तर्फबाट बर्दिया कचेहरी मालका हाकिम सुब्बा हर्नेश्वरलाल, अमीनी (अदालत) कचेहरी (सीमाना हेर्ने अड्डा) बर्दियाका लप्टन दिजराज शर्मा,ओभरसीयर वेद कुमार शर्मा ,र मुन्शी गरीब उल्लाह ले दस्तखत गर्नुभएको प्रमाणबाट देखिन्छ । बर्दिया जिल्लामा शामेल हुनआएको यो भागको पछि मात्र नापी भयो ।
आज भन्दा लगभग एक सय वर्ष पहिलेको यो जिल्लाको दुर्गमताको कल्पना र वर्णन गर्नै पनि गाह्रो छ । त्यो समयमा बर्दियामा एउटा पनि पक्की घर थिएनन् । बाटाघाटा ग्रामीण स्तरका वन जंगलले ढपक्क ढाकेको भूमि । उत्तरी भागमा थारु बस्ती र दक्षिणी भागमा तराईबासीहरुका गाउँ । विकास र विज्ञान देखि धेरै टाढा, सामान्य स्तरको दैवको अधीन कृषि । पैदल, बयल गाडा र घोडाको सवारी, गाई, भैंसी, बाख्रा भेडा पालन गर्ने, बजार र दोकान पसल नेपालगंजमा मात्र । साधारण जनजीवन । चोर डाँकाहरुको बिगबिगी । कालरा, बिफर, मलेरियाको महामारीले आक्रान्त मानिसका बस्तीहरु । भारतीय रेलवे स्टेशन नजिक अड्डा राख्दा आवागमन र नेपालको हुलाक सञ्चालन सुविधाजनक हुने भन्ने दृष्टिकोणले होला सम्वत् १९९३ मा हालको गुलरिया न.पा. को पकडिया गाउँदेखि दक्षिण, सशस्त्र क्याम्प भन्दा पूर्व ‘अलीनगर’ भन्ने गाउँमा (हाल सो गाउँ छैन ) टहरो बनाई कुम्भर देखि सदरमुकाम सारेको र फुसका घरहरु बनाई “माल” “अमिनी” (अदालत) र “वन जाँची” (वन कार्यालय) स्थापित भएका र थाना (हवल्दार जिल्ला इन्चार्ज हुने) हालको गुलरिया न.पा. तुलसीपुर (तराईबासीहरुको गाउँ) मा रहेकोमा केही महिनामा अहिलेको मुर्तिहा जाने बाटोको छेउमा रहेको मुश्लिम चिहानघाट त्यसबेलाको “झुडियाही बगिया” मा थाना सारेपछि जिल्लाका चारओटा प्रशासनिक कार्यालयहरु तप्पे छीट पकडिया अन्तर्गत खास पकडिया गाउँमा एकै ठाउँमा सदरमुकाम कायम भएर जिल्लाको प्रशासन र न्याय व्यवस्था सन्चालन भएको कुरा स्थानीय वयोबृद्धहरुले सुनाउँछन् । तर अलीनगर गाउँ सरयू नदीको तीब्र कटानमा परेकोले स साना घर झुप्रा भएका चमार जातिका केही घर अहिलेको मुर्तिहा जाने सडकको पूर्वृ बसाई सरे त्यसलाई अलीनगरका मानिसले पुरवा भन्न थाले,( जो आज आशापुरवा हो ) । तर नदी कटानले गर्दा तुरुन्तै लोधहरु पनि सर्ने अवस्था आई पर्यो र सर्वप्रथम लक्षमण लोध बसाई सरेर पकडियाको ठूलो रुख नजीक घर बनाए, बाकी मानिसहरु पनि बसाई सरे र आज को पकडिया गाउँ बस्यौ , अलीनगर हरायौ । तब त अड्डाहरु पनि भागनु परि हाल्यो र माल, अमिनी र वनजाँची तीनै वटा अड्डाका लागि सर्वथा नयाँ र जनशून्य ठाउँमा एउटा भवन बन्यो । जुन आजको बर्दिया जिल्ला अदालतको कार्यालय भवनको पछाडी रहेको स्टोर र कर्मचारीको प्रयोगमा रहेको पक्की घर केही कमजोर अवस्थामा कायम नै छ । यो भवन १९९३ सालमा बनी सके पछि यसमा कार्यालयहरु स्थापित भैसकेका थिए भन्ने कुरा वि.सं.१९९४ आषाढ ५ गते बगलामुखी मंदिरको स्थापना माल अड्डाका सुब्बा पिताम्बर खरेलले गरेको भन्ने कुरा को शिलालेख रहेकोले सो भन्दा पहिले अर्थात १९९३ मा अड्डाहरु खडा भैसकेको कुरा यकीन गर्न सकिन्छ । यसको साथै हालको नगरपालिका भवन भएको ठाउँमा वि.सं. १९९६ सालमा दुई ओटा विशाल गोदाम घर पक्की भवन पंच बखारी या “धर्म बखारी” को निर्माण भयो । यो सार्वजनिक चौरलाई मञ्जुश्री बालबाटिका नाम दिइयो । त्यस्तै वर्तमान जिल्ला प्रशासन कार्यालयको भवन भएको ठाउँमा कारागार र हुलाक भएको ठाउँमा टिनको छाना लगाई सानो एककोठे हुलाक बन्यो, फूसको सानो पुलिस थाना र कान्जीहाउस एक साथ बने र थानेदारको दरबन्दी भयो । बर्दिया अस्पतालको सानो भवन र डाक्टर क्वाटर बन्यो । यी सबै संरचनाहरुको निर्माण वि.सं. २००० को सेरोफेरोमा भएको भन्ने कुरा जानकारहरुले बताउँछन । ई संरचनाहरुको निर्माणमा भारत मीहिपुरवा भट्ठाबाट बेगारीका बैलगाडामा इट्टा बोकाइएको रहेछ । त्यहाँदेखि यो ठाउँलाई गुलरिया अड्डा भनियो । यी संरचनाहरुको निर्माण नभएसम्म यहाँ बस्ती थिएन । खालेगुलरिया गाँउ त थियो तर यो गाउँको सेरोफेरोमा अड्डा खडा भै सके पछि यो जिल्लाको सदरमुकाम र प्रशासनिक प्रमुखहरु रहने बस्ने स्थान गुलरिया अड्डा बन्यो । अब दुइटा गुलरिया भए ।
माल कार्यालयले भूमिको मालपोत र अन्य असूल तहसीलका सम्पूर्ण आर्थिक कारोबारका साथै हुलाक, वनजाँची र अमिनी समेतबाट संकलित राजश्व आफ्नो जिम्मामा लिन्थ्यो भने प्राइमिनिष्टरका हजुरमा सम्पूर्ण रकम दाखिला गर्ने निकाय भएको कारणबाट प्राइमिनिष्टरको स्थानीय प्रतिनिधि प्रशासनको रुपमा समेत यसको विकास भएको पाइन्छ । “माल महतारी”(आमा) भनेर निकै पछि सम्म (र यदाकदा आज पनि )यो शब्द प्रचलनमा रहेकोले यसको महत्व बोध हुन सक्दछ र माल अड्डा भनेको लगभग आजको जिल्ला प्रशासनको भूमिकामा रहेको कुरा मान्नु पर्दछ ।
यो बर्दिया जिल्ला अंतरगत को राजापुर बजार उत्तर का विभिन्न पहाडी जिल्लाका मानिसहरुको किनमेल गर्ने ठाउँको रुपमा रहेको निकै पुरानो बजार हो । बर्दियामा गुलरिया लगायत अन्य कुनै पनि बजार विकसित नहुँदै नेपालगंज र भारत नानपारा बहराइचका व्यापारीहरुले व्यापार गर्न शुरु गरेपछि राजापुर बजारको जन्म भएको हो ।यसको जन्म कहिले भयो भन्न कठिन छ तर लगभग डेढसय वर्ष भन्दा कम नहुनु पर्दछ भन्ने कुरा हनीफ सिद्दीकी र चुन्ना जसगडले बताउंछन । तर कर्णाली नदीले गर्दा बजार असुरक्षित हुन लागेपछि बडाहाकिमले २०१२ सालमा तत्कालीन “बजार अड्डा” (मूल भन्सार कार्यालय राजापुर) मार्फत सरकारी भूमि उपलब्ध गराई हालको बजार बसालेको हो । राजापुरको पुरानो बजारको मंदिर र मस्जिद को टुट फुट संरचना आज पनि पुरानो ठाउँमा कायमै छन् ।
बजारको उपलब्धता त्यस बेलाको ठूलो समस्या रहेकोले सरकारी स्तरबाट बजार बसालने सिलसिलामा गुलरिया गाउँ (जसलाई खाले गुलरिया भनिन्छ) को छेउमा सदरमुकाम स्थापित भैसकेपछि गुलरिया बजार बसाल्ने सोंच बन्न थाल्यो तर गुलरिया अड्डा दखि गुलरिया गाउँ, सुहेलवा, मतंगा, बाजी कोठिया, थारु कोठिया र आशापुर पकडियाको बीचको भूभाग घना जंगल झाडी भएकोले एक गाउँ बाट अर्काे गाँउ जान दिन मै कठिन थियो अझ साँझ परेपछि त हुलाक देखि पश्चिम गुलरिया र उत्तर मतंगा कोही जाँदैनथ्यो । गुलरिया अड्डाको स्थापना लगत्तै चिउरा,भूजा ,मिठाई र कपडाको सानो पसल गरि ३,४ वटा पसल अस्थायी झुप्रा र टहरामा बस्न पुगेकोमा बडाहाकिमले २०१२ सालमा बजार अड्डा मार्फत व्यापारीहरुलाई आकर्षित गरि बोलाई जिल्ला प्रहरी कार्यालयको चोक देखि दक्षिण लारी कार्यालय सम्म दूइ लाइन पसल राख्ने शर्तमा २ ,२ कठ्ठा जग्गा वितरण गरी (हालको गुलरिया सदर लाइन,भंसार रोड मुख्य बजार) बजार बसालेर निस्सा प्रमाण वितरण गरेको रहेछ । त्यहाँ देखि सदरमुकामको विकास र प्रशासन यन्त्रको सक्रियता बढेको बुझ्न सकिन्छ । सं. २००० देखि २०१७ साल पौष २२ गते प्रजातन्त्रको अन्त र पञ्चायती व्यवस्थाको सुत्रपातको घोषणा भएको अवधिमा माल प्रशासनमा रहेका कर्मचारीहरुको नामावली अनुसुची २ मा उल्लेखित छ ।
बदिया स्वतन्त्र जिल्ला भैनसकेको अवस्थामा जंगल झाडी भएको, बाटोघाटो नभएको बाघ भालु जनावर लाग्ने ठाउँ यो बर्दिया क्षेत्रको प्रशासन यद्धपि माल हाकिमद्वारा संचालित हुन्थ्यो तर वास्तविक प्रशासक भने बाँके बर्दिया गोश्वारा नेपालगंजका बडा हाकिम नै हुन्थे । सं. २००६ सालमा गोश्वाराका हाकिम प्रकाश शमसेर सरुवा भएर गैसकेपछि धु्रब शमसेरको समयमा २००७ मा क्रान्ति हुँदा कांग्रेसी क्रान्तिकारी मुलायम बेहनाले बडाहाकिमको कुर्सी कब्जा गरेर बसे र उनलाई गभर्नर भनियो तर क्रान्ति पछि प्रशासन यन्त्र क्रान्तिकारी सरकारका हातमा सुदृढ हुँदै गएपछि २००८ मा शेर बहादुर शाही बडाहाकिम नियुक्त भएर आए । त्यसपछि बद्री विक्रम थापा, मकर बहादुर बान्तवा आदि बडा हाकिम भए । २०२० सालका अन्तिम बडा हाकिम को नाम स्पष्ट हुन सकेको छैन । २०२१ सालमा नयाँ प्रशासन व्यवस्था अन्तरगत बडा हाकिम को सट्टा प्रथम अञ्चलाधीश पूर्ण सिंह नियुक्त भएका थिए भन्ने कुरा नेपालगञ्ज निवासी वयोवृद्ध विश्वनाथ चटर्जीले बताउनु हुन्छ ।
वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लाहरुमा बाँडियो । बर्दिया राणा प्राइमिनिस्टरको पेवा रहेन नेपाल सरकारको स्वामित्वको स्वतन्त्र जिल्ला भयो । राणाको विर्ता खारेज भयो । तप्पाको सट्टा गाउँ पञ्चायतहरुको गठन भयो र २०२१ सालमा भूमिसुधार लागू भयो । सर्वे नापी भयो जमीनदार र पटवारी प्रथाको अन्त भयो । बर्दिया मालको क्षेत्राधिकार भूमिको कागजात राखने र मालपोत असूलीमा सीमित भयो । ो २०२०।२०२१ सालका सुब्बा स्तरका ( पछि सेक्शन अफिसर ) अंतिम हाकिम कृष्ण प्रसाद रिमाल हुनु हुन्थ्यो । माल अड्डा स्थानीय प्रशासनिक एकाई को समेत भूमिका मा रहने अवस्था सकियो र प्रथम पटक २०२१ सालमा प्रमुख जिल्ला अधिकारीको रुपमा लोकेन्द्रराज शर्मा आउनुभयो । प्रमुख जिल्ला अधिकारीको कार्यालय खडा भयो ।
जिल्लाको विकास हेर्नलाइ जिल्ला पञ्चायत कार्यालयको स्थापना भयो । गृह र पञ्चायत यौटै मंत्रालय बन्यो । त्यसबेला विकास प्रशासनको अवधारणा अनुसार प्रमुख जिल्ला अधिकारीले प्रमुख जिल्ला अधिकारीको कार्यालमा रहेर जिल्लाको प्रमुख प्रशासकीय अधिकारीको रुपमा काम गर्नुका साथै जिल्ला पञ्चायतको सचिवको हैसियतले काम गर्नलाइ जिल्ला पञ्चायतको सचिवालय खडा भयो । प्रमुख जिल्ला अधिकारीले विकास कार्यलाई मूर्त रुप दिनको लागि उक्त जिल्ला पञ्चायत सचिवालयको चीफ हुने ब्यवस्था भयो । जिल्ला पञ्चायत कार्यालयको प्रमुख भने एम्इ ९ पञ्चायत डेवलपमेण्ट अफिसर ) रहने व्यवस्था भयो । यसै कारणबाट विभिन्न जिल्लामा प्रशासकीय भवनहरु बने जसमा आधा भागमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र आधा भागमा जिल्ला पंचायत रहने ब्यवस्था भयो ।यस अनुसार बर्दियाको प्रशासकीय भवन (हाल जिल्ला विकास समिति) मा दक्षिण भागमा प्रशासन र उत्तर भागमा जि पं,. दुवै निकाय २०२४ देखि साथै बसे पनि प्रशासन माथि पर्ने गरेको राजनीतिक दबावबाट बच्नकालागि प्र.जि.अ. माधवदास श्रेष्ठले २०३३ सालमा शेर बहादुर भण्डारीको ३ तले घर कम्पाउण्ड सहित रु ६००। प्रति महिना भाडामा लिएर छुट्टिने काम भयो र संस२०३३ देखि नै एकजना प्रशासकीउ अधिकृतको दरबन्दी आयो र जगन्नाथ ज्ञवाली नियुक्त भएर आउनु भयो ।
सदरमुकाममा २०२० साल ताका कृषि कार्यालय खुल्यो । राष्ट्र बैंकको उपशाखा आयो । ना.सु. स्तरको हाकिम रहने (जि.शि.नि.)जिल्ला शिक्षा निरिक्षक को कार्यालय आयो । २०३१ ।०३२ देखि खानेपानी आयोजनाको शुरुवात भै २०३७।०३८ देखि पानी वितरण, र २०३८ देखि जेनेरेटरबाट ३ घंटा विद्युत वितरण शुरु भयो ।
२०१२ सालदेखि यो जिल्लाको सदरमुकाम “गुलरिया अड्डा” मा सरकारले विधिवत् बसालेको बजारका पसले र घरजम गरीसकेका कर्मचारी , र सर्वसाधारणहरुको नामावली भरसक नछुटने गरी पत्ता लगाई अनुसूची ३ मा उल्लेख रहेको छ ।
यो बजारको कच्ची सडक फराकिलो बनाउन सर्वप्रथम प्रमुख जिल्ला अधिकारी प्रेमबहादुर सिंहले २०२६ सालमा प्रयास गरेको जसमा सामान्य बल प्रयोग गर्नु परेको भन्ने कुरा पुराना कर्मचारीहरु बताउँछन् ।
२०२८ सालमा स्थानीय प्रशासन ऐन आयो जसमा अञ्चलाधीश र प्रमुख जिल्ला अधिकारी को काम कर्तव्य अधिकारको सुनिश्चितता भयो । प्रमुख जिल्ला अधिकारीहरु जिल्ला पञ्चायत सचिव नरहने भए । सचिवका लागि पं.वि.अ. आए । २०३१ सालमा स्थानीय प्रशासन योजना आयो जसमा प्रमुख जिल्ला अधिकारी को कार्यालयको नाम “जिल्ला कार्यालय” भयो र रक्षा तथा अदालत बाहेक अरु सरकारी विकास कार्यालयहरु जिल्ला कार्यालयको शाखाका रुपमा स्थापित भए । २०४२ देखि प्रशासनिक अवधारणामा केही परिवर्तन भयो र जिल्ला कार्यालयलाई जिल्ला प्रशासन कार्यालय बनाइयो ,विकास कार्यालयहरु स्वतन्त्र रहने भए ।
विकास प्रशासनको अवधारणा अनुुसार प्रमुख जिल्ला अधिकारी विकास कार्यमा सहयोगी भूमिकामा रहनुका साथै स्वयं पनि अघि सरेर विकास कार्य हातमा लिने प्रचलनले गर्दा २०३३ सालमा प्रमुख जिल्ला अधिकारी माधवदास श्रेष्ठले सदरमुकाम मतंगाका अब्बास अली धोवीका पिता अलीबकस लाई सम्झाइ बुझाई बगैचा सहितको ०—१९—० उन्नई कट्ठा जग्गा प्राप्त गरी बाल मन्दिर बनाएका थिए । त्यस समयमा यसलाई बहुतै महत्वपूर्ण र ठूलो काम मानिएको थियो भने प्रमुख जिल्ला अधिकारीहरुकै सक्रियतामा तत्कालीन प्रधानपंच राधेलाल यादवको जग्गामा जिल्ला वन कार्यालय, अब्बास अलीको जग्गामा जिल्ला सिंचाइ कार्यालय, जि.पं.स.भारत जंग र प्रधानपंच त्रिलोक जंग शाहको जग्गामा राधाकृष्ण चोक र सरकारी गेष्ट हाउस, जिल्ला प्रहरी कार्यालय, बर्दिया अस्पताल, गा.वि.स. भवन र खानेपानी जस्ता कार्यालय र कम्पाउण्डहरु स्थापित भएका हुन् ।
प्रशासकीय पहलमा विकासको सुनौलो इतिहास २०४३ सालमा शुरु भयो जसमा अञ्चलाधीश नवराज गुरुङ्ग र प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार सिंह याकथुम्बाको सिक्रयतामा स्थानीय जनप्रतिनिधीहरुले जिल्लामा उच्च शिक्षाको पहिलो प्रतिष्ठान“बबई बहुमुखी क्याम्पस” को स्थापना गरे । गुलरियामा टेलिफोन जडान गराए । जेनेरेटरबाट विद्युत वितरण २०३८ बाट शुरु भै सकेको थियो । प्रमुख जिल्ला अधिकारी याकथुम्बाकै सक्रियतामा कोटही भवानी देव स्थानमा मन्दिर निर्माण र विशाल कम्पाउण्डको निर्माण भयो । नारी शिल्पकला केन्द्रको शुरुवात भयो । २०४५ सालमा प्रमुख जिल्ला अधिकारी देवेन्द्रबहादुर सिंहले रेडक्रस भवन र शिल्पकला केन्द्र निर्माण तथा कर्मचारी मिलन केन्द्रको स्थापना र बगलामुखी मन्दिरको भवन निर्माणमा सक्रिय रहे । पुरानो कारागारको जग्गामा२०६१ साल देखि निर्माण कार्य शुरु भएको जिल्ला प्रशासन कार्यालयको भवन २०६३ सालमा पुरा भयो र प्रमुख जिल्ला अधिकारी शिव प्रसाद नेपालले मंगसीर ५ गते वास्तु पूजन गरी गृह प्रवेश भयो । शेर बहादुर भण्डारीको घरमा २०३३ देखि २०६० सम्म र त्यहाँ बम विस्फोट भएपछि सरकारी गेस्ट हाउसमा रहेको जिल्ला प्रशासन कार्यालय ले आफ्नो नयाँ कार्यालय भवनबाट प्रशासन सञ्चालन गर्न शुरु गर्यो । प्रमुख जिल्ला अधिकारी को निवास निर्माणधीन रहे पनि स.प्र.जि..अ. र अधिकृत तथा अन्य कर्मचारीहरुको सरकारी क्वार्टर हालसम्म बन्ने लक्षण देखिएको छैन ।
माथी उल्लेखित संरचनाहरु सदरमुकाममा रहेकोले सबैको दृष्टिमा सजिलै पर्दछन् तर जिल्लाका गाउँ र अन्य विकसित बजार गाविस नगरपालिका क्षेत्रहरुमा बाटोघाटो, पुलपुलेसा, मन्दिर, खानेपानी, बिजुली, विद्यालय, सामुदायिक वन आदि विकास कार्यमा सबै प्रमुख जिल्ला अधिकारीहरुले आ–आफ्नो समय र स्थिति अनुसार सघाउ पु¥याएको र कहीं कहीं विकास कार्यमा प्रत्यक्ष सहभागिता जनाएका थुप्रै उदाहरणहरु छन् । ती सबै कार्यहरुलाई उल्लेख गर्न यहाँ संंभव नभएकोले केही प्रमुख कामहरु मात्र उदाहरण स्वरुप प्रस्तुत गरिएको हो । यसको तात्पर्य के हो भने देशको विकास कार्यमा स्थानीय प्रशासनको दायित्व,चासो र उत्साह रहने गरेको एतिहासिक परम्परा नै बनी सकेकोमा अबको समयमा प्रशासनको संचालन र जनकल्याणका नयाँ नयाँ विधि ,अनुशासन, प्रक्रिया र तरीकाहरुको अविष्कार हँुदैगएकोले स्थानीय प्रशासनको विकास पट्टीको भूमिका घटेको छ र स्थानीय प्रशासन शान्ति सुरक्षामा बढी केन्द्रित हुनु परेकोछ । तसर्थ अब यदि प्रमुख जिल्ला अधिकारीले विकास कार्यमा आफै हात हाल्नु पर्ने कुनै परिस्थितिको श्रृजना हुन आउँछ भने यस्तो कार्य गर्नकालागि राजनीतिक दलहरुबाट प्रोत्साहन र सकारात्मक वातावरण श्रृजित भएमा मात्र सम्भव हुन सक्दछ ।
अनुसूची १
सम्वत् १९९३ भंदा पहिले बर्दिया बिर्ता माल कुम्भरमा कार्यरत कर्मचारीहरु
१, हाकिम सुब्बा हर्नेश्वरलाल ( जात खुल्न सकेन ) वि.सं. १९८६
२, हाकिम सुब्बा गोकेन्द्र बहादुर शाह ( गुरवागाँउ पदनहाका तेग बहादुर शाहका बुवा हुन् )
३, हाकिम सुब्बा. पिताम्बर खरेल ( इनी १९९४मा गुलरिया माल का हाकिम थिए र त्यस बेला
किनकि पजनी प्रथा थियो र हाकिम राणा सरकारको प्रतिनिधि हुन्थे, यातायात र संचार
कठिन थियो भारतको बाटो हिडनु पर्दथ्यो यस कारण आजको जस्तो १,२ वर्षमा सरुवा
हुँदैनथ्यो यस कारण गुलरियाका पहिला हाकिम नै कुम्भरका अंतिम हाकिम हुनु पर्दछ ।
४, नाप नकशा तर्फ कमला प्रसाद कायस्थ(श्रीवास्तव) पछि पटवारी भए (१९६७ सालमा बर्दिया जिल्लाको सरपट नापी भएकोले कर्मचारी संख्या बढी हुनु पर्दछ । अन्य नाम खुल्न सकेन)
५,तारानाथ उपाध्याय गौतम
६, मुखिया चन्द्रलाल श्रेष्ठ ( पछि पटवारी )
७, नौसिन्दा ( पछि मुखिया ) त्रिलोक नाथ कायस्थ
८,सिपाही . . . . . . . . .
९,.सिपाही
( डाँकाहरुको निरंतर आक्रमणबाट कुम्भर गाँउ उजाड हुन थाल्यो र अड्डा अलीनगरमा सर्यो भन्ने भनाई छ , अन्य कुनै जानकारी उपलव्ध हुन सकेन) . . . . . .
अनुसूची २
सं. १९९३ देखि २०१७ साल सम्म माल अड्डा गुलरियामा (स्थानीय प्रशासकीय निकाय) का कर्मचारी
हाकिम सुब्बा पीताम्बर खरेल
हाकिम बाजे उदयराज शर्मा (तिलकहना,कंठपुरमा बस्नु भयो )(मा.पो.का.को अभिलेखमा भेटाउन
नसकेपनि हाकिम हुन भन्ने कुरा यकीन साथ भन्ने हरु छन् )
हाकिम सुब्बा. कृष्ण ध्वज कार्की ,, ,, ,,
हाकिम सुब्बा ज्ञानध्वज कार्की (कृष्णध्वजका छोरा ) ,, ,, ,,
हाकिम सुब्बा भद्रकाली शर्मा (मा.पो.का.को रकर्डमा नभिडेको र खरदार वा नायब सुब्बा हुन् भन्ने
आशंका )
हाकिम सुब्बा कीर्तिनाथ प्याकुरेल. ,, ,, ,, ,, ,,
हाकिम सुब्बा ( पछि सेक्शन अफिसर, यहाँ देखि राजपत्राँकित शुरु) कृष्ण प्रसाद रिमाल
खरिदार टेक बहादुर स्वाँर
खरिदार…………………
मुखिया तारा प्रसाद पाठक
मुखिया समर बहादुर श्रेष्ठ
मुखिया त्रिलोक नाथ कायस्थ (श्रीवास्तव) (२०१७ सालको कू मा बर्खास्त भएको)
मुखिया भुक्तमान श्रेष्ठ
मुखिया तीर्थ बहादुर सापकोटा (२०१७ साल को कू मा बर्खास्त भएको )
तहबीलदार सुरेशराज शर्मा
बहिदार
सिपाही खडग बहादुर थपलिया
सिपाही डण्ड बहादुर थापामगर
सिपाही ओरीलाल लोध ,१९९८—२०२६ सम्म कार्यरत पकडिया
सिपाही बिन्द्रा लोध .पकडिया
(कर्मचारीहरुको कार्यावधिको सही जानकारी प्राप्त गर्न नसकिएकोले नामको क्रम नमिलेकाले जानकारीमाआएका नामहरु लहरैराखिएको छ )
वर्तमान प्रमुख मालपोत अधिकृत श्री अमृत कुमार कर्माचार्यलाई उपलब्ध भएको विवरण जानकारीकोलागि निम्न अनुसार छ ।
१, संवत् १९९१,९२ या ९३ मा माल अड्डा गुलरियामा आएको हुनु पर्दछ । हाकिम सुब्बा पिताम्बर बस्याल
२, सं. २००८,हाकिम ना.सु.बटुकृष्ण तिमिलसीना,सं.२०२० हाकिम नासु. टेकबहादुर स्वाँर,२०२० श्रावण हाकिम ना.सु. चन्द्र प्रसाद मुडभरी ,२०२१ अषाढ हाकिम ना सु. पूर्ण बहादुर राजलवट,२०२२ अषाढ.हाकिम ना.सु. टोप बहादुर मजगैया,२०२२ चैत्र हाकिम से.अ.कृष्ण प्रसाद रिमाल,२०२५ कार्तिक भूमि प्रशासक जयनारायण मंडल,२०२६ श्रावण से.अ. बागीश्वरी दत्त चटौत,२०२७ घनश्याम गोर्खाली,२०३१ भूमि प्रशासक वासुदेव घिमिरे,२०३२ डिल्लीरमण आचार्य,। त्यस पछि जगन्नाथ श्रेष्ठ,मुक्ति बहादुर स्वाँर,तारा प्रसाद पाण्डे,ईश्वरचँद्र जोशी,जीतबहादुर थापा,कपिलमान डंगोल, गंगा बहदुर राई,लोकबहादुर श्रेष्ठ,मान बहदुर स्वाँर,शंकर प्रसाद भेटवाल,भरत चन्द्र अधिकारी, आदि विभिन्न समयका हाकिम हुन् ।
( यसमा कतिपय नाम छुटेको र क्रम नमिलेको हुन सकने । अुसूची २ को हाकिम हरु यसैमा आउनु पर्ने )
३ पुरानो माल अड्डा (हालको अदालतको) कोपछाडीको बारीमा मालपोत कार्यालयको भवन हालै तयार भएर २०७२।५।६ गते आइतवार देखि कर्य संचालन भएकोे हो ।
अनुसूची ३

२०१५ साल मा कायमरहेका गुलरिया अड्डाका पसले,निवासी कर्मचारी र अन्य व्यवसायीका घरहरु
प्रहरी कार्यालयको दक्षिण,भंसार रोड मेन लाइन
पूर्व लाइन (उत्तर देखि दक्षिण तर्फ ) । पश्चिम लाइन (उत्तर देखि दक्षिण तर्फ‘‘‘‘‘‘‘‘‘।
१,खडग बहादुर थपलिया । साविक .?…..हाल नरेन्द्र कुमार शर्मा
२,मैकू पासी, हाल माधव बहादुर कुँवर । मोलबी अब्दुल गनी (हाल छोरा कलीम अंसारी)
३,लक्कड पटहर । भगेलू भुजवा
४,साविक..?…पछि कीर्तिनाथ प्याकुरेल । होली गोडिया
५,बाबूराम भुजवा (भूजा चमेना) । मुस्ताक हलवाई
६,मस्जिद । इसहाक हलवाई
७,सफीक अहमद (मट्टी तेल) । झब्बर हलवाई (नूरी नेपाल )(परचून)
८,इस्लाम राकी (कपडा) । मनोरथ र सर्जू प्रसाद भुजवा(कपडा)
९,मोलहे अन्सारी । साविक .?… पछि तारा प्र. पाठक
१०,मैकू भुजवा (भूजा चमेना) । बाठे भुजवा (मिठाई र परचून)
११,महन्त गोडिया । श्रीराम कलवार
१२,अब्दुल लजीज चौधरी कबडिया (भाँडा) । खुशी भन्ने मन्ना गोडिया (मिठाई र परचून )
१३, राधेलाल जयसवाल (पान)
१४,हजारी बनिया (छोरा जनक ) (गुड) । जनाब मनिहार (जूतावाला)
१५, जोधा बनिया (छोरा जुग्गी र कमल ) । जगन्नाथ बनिया (छोरा किशोरी वैश्य)
१६,सफली मनिहार । वनजाँच अबदुल्ला मनिहार
। साधूराम बनिया
१७,भुट्टी मनिहार । बृजा साह (साह आयुर्वेदिक)
१८,बृजलाल गोडिया (अलि पछि आएको) । रामबली बनिया (छोरा मत्तू र विशेश्वर)
१९,ढोढे तमोली (पान र कृषि) । बजार अड्डा
२०,श्रीराम कलवारको घर । ठेकी भन्ने लारी अफिस
२१,जहूर मनिहार
२२,महाबीर बनिया
२३ बलदेव ब्राह्मण
२४, खाली जग्गा
लारी अफिसको पछाडी पुस्तकालय सम्मको लाइन , मेन बजारको पछाडी ब्यवसायीका घरहरु
पूर्वको लाइन उत्तर देखि दक्षिण । पश्चिम लाइन, उत्तर देखि दक्षिण
१,पुस्तकालय । खरिदार कृष्ण प्रसाददहाल,( इन्दु र विनोद कुमार
२,अब्दुल हक मनिहार । धनन्जय पाण्डे खरिदार वन कार्यालय
३,रंगीलाल गोडिया, । सुबेदार काशीनाथ उपाध्याय
४,मथुरी गोडिया, । कँधै धोबी र पुत्ती धोबी अदालतका सिपाही
५,सन्तू साह
६,लखन बनिया
७,सद्धू बनिया
८,कल्लू बनिया
९,लारी अफिस
लारी अफिस को दक्षिणीबाटो बाटकृषि कार्यालय जाने बाटोको दाँया बाँया
१,गरीब उल्लाह मनिहार, अमीनीका बोर्डर मुन्शी २, बनजाँच बशीर अहमद मनिहार
३,इब्राहीम मनिहार ४,बनजाँच महबूब मनिहार
५,सफी मनिहार मालका सिपाही २०२० ६,टेन्नी मनिहार मा पो का .का ड्रइभर,२०२५सम्म
७,सुलतान मनिहार ८,सद्दीक मनिहार,२०२५ सम्म अदालतकाबहीदार
९, तीर्थ बहादुर सापकोटा मालका मुखिया ,पछि जि पं. सभापति र राष्ट्र्यि पंचायत सदस्य
आँखा अस्पताल लाइन( यो परिवार सं.१९९७ मा आएको )
१,भान्जा बाजे शिव प्रसाद उपाध्याय पोखरेल २, गोविन्द प्रसाद उपाध्याय
३, मोहन प्रसाद उपाध्याय
बगलामुखी मंदिर जाने बाटो देखि पूर्व र नगरपालिकादेखि पश्चिम (अदालतको अगाडीको टोल)
१,सुरेशराज शर्मा, तहबीलदार माल अड्डा २,भद्रकाली शर्मा, सुब्बा माल अड्डा
३,कीर्तिनाथ प्याकुरेल,सुब्बा माल अड्डा ४,…………. राम प्रसाद शर्मा
५,डण्ड बहादुर थापामगर सिपाही ,, ,,
हालको नगरपालिका,तत्कालीन धर्मबखारी चौरमा बसोबास भएको
१,राइटर बाजे लोक शंकर आचार्य
धर्मबखारी अगाडी कारागार । सो देखि पूर्व र जि प्रहरी का देखि पश्चिम
१, हरि प्रसाद अधिकारी,सिपाही वनजाँची अड्डा,२००४को नियुक्ति
नगरपालिका कम्पाउण्डको दखिन गेट देखि बगलामुखी मन्दिर जाने बाटोमा
१, हस्त बहादुर क्षेत्री २,अमीन ज्ञानराज अधिकारी
३,घ्याऊ मुखिया ४,सुभद्र झा,शिक्षक,बगलामुखी मंदिर विद्यालय

माल अड्डाको पछाडी
१, नन्दलाल पाण्डे, वनजाँच, वनजाँची अड्डा
हुलाक को पश्चिम बाटो पारी टोल ,( उत्तर देखि दक्षिण )
१,भुक्तमान श्रेष्ठ ,मुखिया माल अड्डा २, खडक प्रसाद राजभण्डारी,राइटर, अमीनी
३, चन्द्रलाल श्रेष्ठ पटवारी ४,तारा प्रसाद पाठक,मुखिया मालअड्डा
५,उद्दिम बहादुर क्षेत्री,हवल्दार ६, बल बहादुर मगर
७,शिव प्रसाद पोखरेल पटवारी
शुरु गुलरिया अड्डाको बस्ती यत्ति मै सीमित रहेछ । यो विवरण मा पर्ननसकेका नामहरु लेखकले थाह नपाएर, साथै विवरण बताई दिनेहरुको स्मरणमा नआएर छुटेको हुन सक्दछ । यस कारण यसमा उल्लेखित सम्पूर्ण विवरण पूर्ण प्रमाणिक र अन्तिम सत्य भएको भनि दावी लिन त सकिंदैन र कतै कुनै विवरण अन्यथा हुन गएको भए लेखक क्षमाप्रार्थी छ । तर भरसक प्रयत्न गर्दा बस्ती यति नै हो भन्ने कुरा आएको छ ।

अनुसूची ४
२०२१ साल देखिका प्रमुख जिल्ला अधिकारीहरु
नाम कार्यकाल ( देखि सम्म )
१ ,लोकेन्द्र राज शर्मा २०२१। । । २०२४।७।२६
२, प्रेम बहादुर सिंह २०२४।७।२७ २०२६।७।०१
३,राम प्रसाद अरुण २०२६।७।१ २०२६।८।२६
४,मनमोहन झा २०२६।८।२० २०२९।४।२६
५,खगेन्द्र प्रसाद पौडेल २०२९।५।२९ २०२९।१०।०३
६, मुकुन्द प्रसाद उपाध्याय २०२९।१०।०२ २०३२।२।२७
७,माधवदास श्रेष्ठ २०३२।३।२९ २०३५।३।२३
८,कृष्ण प्रसाद अधिकारी २०३५।४।१९ २०३६।६।२८
९,बागीश्वरी दत्त चटौत २०३६।७।१४ २०३७।८।०२
१०,शरद कुमार भट्टराई २०३७।८।१८ २०३९।६।५
११,चन्द्र प्रसाद पाण्डे २०३९।७।१५ २०४०।१२।२१
१२,ईश्वर नारायण पाण्डे २०४१।५।१७ २०४२।७।२३
१३,मञ्जुल कुमार सिंह याकथुम्बा २०४२।१२।०७ २०४५।१।२१
१४,देवेन्द्र बहादुर सिंह २०४५।०२।०४ २०४६।१२।३१
१५,विन्देश्वर प्रसाद सिंह २०४७।१।९ २०४७।१।३०
१६,रामेश्वर प्रसाद देवकोटा २०४७।२।२५ २०४८।७।२५
१७,भोला सिलवाल २०४८।८।९ २०४८।९।२७
१८,लक्ष्मी प्रसाद भट्टराई २०४९।१।१ २०५१।११।७
१९,हेमराज सापकोटा २०५१।११।१४ २०५२।६।१३
२०,शालिग्राम सापकोटा २०५२।६।१५ २०५३।७।१०
२१,आत्माराम पाण्डे २०५३।१०।२० २०५३।११।८
२२,अब्दुल रईश खाँ २०५३।११।९ २०५३।१२।३
२३,हीरामणि भण्डारी २०५३।१२।४ २०५३।१२।८
२४,अब्दुल रईश खाँ २०५३।१२।९ २०५३।१२।३०
२५,शशिशेखर श्रेष्ठ २०५४।१।१ २०५४।८।…
२६,मोदराज डोटेल २०५४।९।२८ २०५५।६।६
२७,उमेश प्रसाद मैनाली २०५५।६।९ २०५६।८।१०
२८,खोमराज नेपाल २०५६।९।८ २०५७।४।१
२९,डिल्लीराज जोशी २०५७।४।१६ २०५८।११।२८
३०,लक्ष्मी शरण घिमिरे २०५८।१२।२८ २०५९।१।३
३१,क्षेत्र बहादुर भण्डारी २०५९।१।३ २०५९।१।२३
३२,धर्मराज ढुंगाना २०५९।२।२ २०५९।७।२७
३३,आनन्दराज पोखरेल २०५९।८।११ २०५९।१२।२६
३४,रत्नकाजी बज्राचार्य २०६०।१।४ २०६०।३।३१
३५,माथुर प्रसाद यादव २०६०।४।२६ २०६०।१०।१७
३६,सुशीलजंग बहादुर राणा २०६०।१०।१८ २०६०।१०।१९
३७,नरेन्द्र दहाल २०६०।१०।२० २०६२।१।२३
३८,विमल प्रसाद ढकाल २०६२।२।५ २०६२।३।३०
३९,शिव प्रसाद नेपाल २०६३।४।४ २०६५।७।७
४०,वेद बहादुर कार्की २०६५।७।२२ २०६६।६।५
४१,वेणीमाधव ज्ञवाली २०६६।६।७ २०६७।९।. .
४२,रामकृष्ण सुवेदी २०६७।९।१८ २०६८।१०।२७
४३,यज्ञराज बोहरा २०६८।१०।२७ २०६९।६।२७
४४,डा.मान बहादुर बि के २०६९।६।२८ २०७१।२।६
४५,तेज प्रसाद पौडेल २०७१।२।७ २०७१।८।४
४६,नरहरि बराल २०७१।८।५ २०७१।१०।५
४७,विनोद बहादुर कुँवर २०७१।१२।६ २०७२।९।१२
४८,विष्णु बहादुर थापा २०७२।१०।३ कार्यरत
यो लेखमा उल्लेखित विवरणहरुको श्रोत बगलामुखी मंदिरको शिलालेख,जिल्ला प्रशासनको अभिलेख,लेखक स्वयं कै केही संस्मरण, पदमपुरका सत्यनारायणलाल र जयनारायणलाल श्रीवास्तव,पकडियाका राजेश्वरी प्रसाद वैश्य,किशोरीलाल वैश्य,सिपाही ओरीलाल लोधका छोरा सुक्खा प्रसाद लोध,गुलरिया अड्डाका साधूराम बनिया, मैकू भुजवाका छोरा श्यामलाल गुप्ता,भद्रकाली शर्माका छोरा कृष्ण प्रसाद शर्मा,चन्द्रलाल श्रेष्ठका छोरा मानलाल श्रेष्ठ,लोक शंकर आचार्यका छोरा तुलाराम आचार्य,डण्ड बहादुर थापा मगरका छोरा अम्बर बहादुर थापा मगर,हरि प्रसाद अधिकारीका छोरा पुष्कर अधिकारी,गोविन्द प्रसाद उपाध्याय,प्र.मा.पो.अ.श्री अमृत कर्माचार्य, ख. केशव शर्मा, कुलानंद कर्ण र मतंगा बस्ने अब्बासअली धोबी,जि.वि.स.रोड बस्ने दिनेश प्रसाद श्रेष्ठ, तथा नेपालगंजका विश्वनाथ चटर्जी बाट जानकारी प्राप्त भएकोले वहाँहरुलाई हार्दिक आभार र धन्यवाद दिन्छु ।

If you have enjoyed reading my books and want to contribute to the project of establishing a senior citizens living center, please donate.