सम्पूर्ण पुस्तक  पढ्न को लागि पुस्तक को नाम मा क्लिक गर्नु होस्!

मेरो अख्तियारी र उत्तराधिकार

भूमिका ः

यो जीवन यात्राको गंभीरतापूर्वक पर्यवेक्षणको आवश्यकता

             राम्रो अथवा नराम्रै क्षेत्रमा भएपनि, जसलाई विशिष्ट व्यक्ति मानिन्छ,त्यसको जीवनचर्यासँग जोडिएका घटनाक्रमको जानकारी पाउने इच्छा जाग्ने गर्दछ । जिज्ञासाका साथ–साथै यसमा एउटा यस्तो भाव पनि हुन्छ जसबाट आफ्नो काम बन्ने सूत्र समेत फेला पर्न सकोस । जे भए पनि कथा साहित्यसँग जीवनचर्याको सघन सम्बन्ध हुन्छ । यो एकातिर रोचक त हुन्छ नै साथै अनुभव प्रदान गर्ने दृष्टिले उपयोगी पनि हुन्छन् ।

            मेरो बारेमा प्रायः मानिसहरुले यस्तै सोधपुछ गर्ने गर्दछन् । तर मैले सामान्यतया यस्ता कुराहरुलाई भरसक पन्छ्याउने गरेको छु । मेरा प्रत्यक्ष क्रियाकलाप सबैका सामुन्ने नै छन् तर मानिसहरु त चटक र चमत्कारका कुराहरु जान्न बुझ्न चाहन्छन् । म सिद्धपुरुष छु रे र मेरा समीप आउनेहरु सजिलैसँग अनुदानबाट लाभान्वित कसरी हुने गर्दछन् भन्ने रहस्यलाई जान्ने उत्सुकता बोकेकाहरु कम  छैनन् ।  वस्तुतः म बाँचुन्जेल त ती सबै कुराहरु किम्बदन्ति नै रही रहने छन् । किनकि मैले यस्ता कुराहरु रहस्यको पर्दा भित्रै रहुन् भनेर प्रतिबन्ध लगाई राखेको छु । यदि त्यस दृष्टिकोणबाट कसैले मेरो जीवनचर्या पढ्न चाहन्छ भने, उसले सर्वप्रथम त मेरो जीवनचर्याको तत्वदर्शनलाई बुझ्नु पर्दछ । केही अलौकिक र विलक्षण कुरा खोजन चाहनेले पनि मेरो जीवनक्रम पढेमा नयाँ बाटो प्राप्त गर्ने सम्भावना छ ।