शक्तिहीन राजाको राजतन्त्र र हृदयेन्द्र राजा हुने औचित्य

                                                           –अयोध्या प्रसाद श्रीवास्तव

       जेष्ठ १५ गते २०८२ देखि राजतन्त्र पुनसर्थापनाकोलागि एक पक्षले आन्दोलन गर्ने घोषणा गरेको छ । यस्तो बेलामा मैले उठाउन गैरहेको प्रश्नलाई एक तबकाले मन नपराउन सक्छ । तर सत्य त आफनै ठाउंमा रहन्छ नै । पहिलो कुरा त २०४६ देखि, जब देखि देश राजनीतिक दलहरुको कब्जामा गयो र आज सम्म छ, २०६४ सम्म त राजतन्त्र जीवित नै थियो र राजा वीरेन्द्र को समयमा पनि संसदीय सरकार र झोलेलूट चलेकै थियो उनी यद्धपि सहंदै थिए र चुप थिए । तर तेसबेला नेताहरुको स्वतन्त्र र निष्कंटक नांगो नाच भने हुन पाएको थिएन । अकस्मात कालको दुस्चक्रले वीरेन्द्रको अंत भयो । पछि हिन्दू वंश परंपरा र उत्तराधिकारी राजा ज्ञानेन्द्रको शासनकालमा वहांले देश र जनताको दुर्दशा तथा लूट सहन नसकेर जब २०५९ सालमा कडाई गर्न खोजनु भयो, तेसैको निहु देखाएर नेताहरुले विदेशीको आज्ञापालन गर्दै शासनतन्त्र नै फेरे । राजतन्त्र सकियो गणतन्त्र आयो । तेसैले, (१_)राजा ज्ञानेन्द्र शाहलाई उही पुरानो सत्ता र शक्तिमा स्थापित गर्दा देशको लूट रोकिन सक्छ ,देश हांकने त नेताहरु नै हुन् अनि राजा आउना साथ इनी नेताहरुमा अचानक सुधार आउंछ, इमानदार, देशभक्त र इज्जतदार बन्ने छन् ? भन्ने विश्वास गर्ने आधार के छ ?

      नेपालमा राजतन्त्र राजा वीरेन्द्रसंगै सकियो अब यस्को आवश्यकता नै छैन भन्ने कुरा योजनाबद्ध रुपमा प्रमाणित गर्नलाई एक स्टण्ट पहिलेदेखि फैलाइएकोछ । राजा ज्ञानेन्द्र पछि युवराज पारसलाई राजा बनाउने होइन, भन्ने कुरा सतहमा फैलाइएकै छ । अनि

(२_)राजा ज्ञानेन्द्र पछि फेरी गणतन्त्र नै हुने हो भने केही वर्षको राजतन्त्रकोलागि अहिलेको आन्दोलनको औचित्य के ? अथवा राजा ज्ञानेन्द्र राजगद्दीमा आरोहण भैसकेपछि नेताहरुसंग पुन असन्तुष्ट भएर पहिले जस्तै सत्ता आफनो हातमा लिन खोजेमा या भ्रष्टाचारीहरुको छानबीनमा आयोग आदि गठन गरेर काम शुरु भएमा राजनीतिक दलहरुको पुनः विशाल गठबन्धन र विदेशीहरुको चलखेलले ल्याउन सक्ने तनाव कस्तो होला ? 

         (३) सांचो भूmठो के हो तर , कांग्रेस सभापति शेर बहादुर देउवाले युवराज पारसपुत्र हृदयेन्द्र शाहलाई राजा बनाउन सकिन्छ भनेका छन् भनेर सामाजिक संजालमा आईरहेको छ ।  यसमा विचार गरौं त । हृदयेन्द्रले नेपाल, नेपाली र राजनीतिक दलहरुका चरित्र तथा विदेशीहरुसंगको समीप्यता र प्रभाव आदि हुर्ने बुझने, जनताको संस्कार र मन बुझने, र राजदरबारमा रहेर शासनलाई नियाल्ने मौका कति पाउनु भएको छ ? वहांलाई रबरस्टाम्प बनाएर राजगद्दीमा राख्दा देश, जनता र राजनीतिक दल कसलाई फाइदा छ ? राजाको बालबुद्धि, बहुरुपिया, भ्रष्ट र चोर वातावरण । विदेशीहरुको चहलपहल । देश यस्तै चल्छ ?  

      राजनीतिक दलले राजा बनाउने कामबाट अर्काे ठूलो समस्या खडा हुन्छ । राजतन्त्रमा राजगद्दीमा एक राजाको अंत पछि विधि परम्परा र शाही राजवंश उत्तराधिकार तथा नियम कानून अनुसार स्वाभाविक, निर्विवाद, उत्तराधिकारीको स्वतः राज्यारोहण हुनु पर्दछ । अन्य राजतन्त्रात्मक देशहरुमा पनि आ आफना सुनिश्चित परम्पराहरुको निर्वहन हुने गर्दछ । मनपरि अथवा राजनीतिक दलको चाहनाको कुनै अर्थ हुंदैन । मान्य परम्परा अनुसार नभएर यदि आज भोली चलेको चर्चा अनुसार, राजनीतिक दलहरुले राजगद्दी आरोहणको स्वाभाविक क्रम टुटाएर, छानी छानी मान्छे राजद्दीमा राखने नया काम शुरु गर्ने हो भने  दलहरुमा जो दल पावरफुल हुन्छ उसले म त फलानोलाई राजा बनाउंछु भनेर आफनो नजीकको मान्छेलाई गद्दीमा राख्न पाउने भयो अनि त दरबारिया, घरबारिया जसलाई पनि राजा बनाउने फोहरी जात्रा शुरु हुन्छ र को कति समयकोलागि राजा हुने भन्ने कुरा त आजका प्रधानमंत्री जस्तो बेठेगानको रबर स्टाम्प, जोले पायो उसैले खेल्यो र खेलायो । त्यो भंदा त आजको राष्ट्र्पति नै राम्रो । कमसेकम एक निश्चित प्रक्रिया र पांच वर्षकोलागि पक्का त छ  ।

      राजतन्त्रले राजनीतिक दलहरुको उत्तम चरित्रको अपेक्षा गर्दछ ।  किसान राम्रो छ र जोत्न जानेको छ भने खराब गोरुले अरु सोझा गोरु भंदा पनि राम्रो  कामगर्दछ । यस अर्थमा भविष्यमा राजा पारस नै भएपनि फरक पर्दैन । सांच्चैको राजतन्त्र हो भने त क्रम टुटाउनु त हुंदैहुंदैन । क्रम टुटाएर राजतन्त्र स्थापित गर्नु देशकोलागि बहुतै हानिकारक हुन्छ ।

       अनि यो हुनलागेको आन्दोलन ? देशी उखान छ  “ऊंट चोरावै, निहुरे निहुरे ।” अर्थात कोस भर टाढा देखि नै देखा पर्ने खालको ऊंट जस्तो अग्लो ठूलो जनावर चोरेर चोरले डोरी समातेर हिडेछ तर ऊंट चोरी कसैले थाह नपाओस भनेर चोरले निहुरो परेर ढुकदै लुक्दै हिडनु पर्ने औचित्य के  ? तेस्तै, यदि आन्दोलनै हो, सही मानेमा हो, सबै राजनीतिक दलहरुसंग भिडने आंट, सामथ्र्य, र जनसमर्थन छ, साथै सफलताको विश्वास पनि छ भने त राजालाई रबरस्टाम्प र राजनीतिक दलहरुको हातको खेलौना किन बनाउने ? शक्ति र सामथ्र्यवान राजतन्त्रको स्थापना गरि देशलाई वर्तमान कुव्यवस्था देखि मुक्तिदाता को रुपमा अवतरण गराउने घोषणा किन नगर्ने ?  आफनो देशको आवश्यकता अनुसारको कुरा थपघट गरेर संविधान पुनरलेखनको कुरा किन नउठाउने ?

       नेपाल देखि हजारौं माइल टाढा रहेका, भूगोलको फरक अवस्था, फरक परिवेश, फरक छिमेक, फरक भाषा, भेष, धर्म, संस्कृति, व्यवहार, सोंच, मूल्य, मान्यता, सबै थोक फरक भएको युरोप अमेरिकाले आ आफना अनुकूल बनाएका राजनीतिक व्यवस्थालाई हामीले पनि जस्ताको तेस्तै बोकनु पर्ने औचित्य के ? ब्रिटेनको संसदीय व्यवस्था, अमेरिकाको अध्यक्षात्मक पद्धति, र रुसको साम्यवादलाई चाहे यूरोपका देश होउन, चाहे भारत र चीन, कोरिया, जापान जस्ता एशियाका या अन्य कतैको जो होस उनीहरुले पनि त संसदीय, अध्यक्षात्मक र साम्यवाद आ आफनो तरीकाले आ आफनो देशमा अपनाएका छन् । एकै नामको व्यवस्था भएपनि एकको अर्कासंग मिल्दैन ।

    “जस पसु तस बंधना”-जस्तो जनावर त्यस्तै डोरी_ हुनु पर्दछ । बाख्राको डोरीमा हात्ती बांधन त हुंदैन नि । अनि इंगल्यांडमा जनताले विशेषतया सत्रहौं शताव्दीबाट स्वतः गर्न र मान्न थालेका कामकुराहरुको लामो अभ्यास पछि विकसित भएर आज टाढाबाट मनमोहक देखिएको संसदीय राजनीतिक व्यवस्थाले, हाम्रो देशमा केवल धेरै धेरै नेता, झोले, चम्चेहरुका तुष्टिकरण गर्न र जनतालाई नै धूर्तता तथा बेइमानी तर्फ प्ररित गर्न थालेपछि, यो दोश्रो पटक पनि हाम्रो देशमा अफाप सिद्ध भैसकेको छ, यसलाई अब पनि यथावत मान्नु पर्दछ ? हामी, हाम्रा नेतृत्व र हाम्रो वातावरण, के त्यस परम सुन्दरी व्यवस्थाको योग्य छ र ? के हामी त्यस व्यवस्थाको विशेषता र गुणलाई पहिचान गरेर त्यस अनुरुप हिडन तयार छौं, हिंडेका छौं ? मनन गरौं त ।  अनि यो असाध्य भारी बोकेर हिडनु पर्ने बाध्यता के ? देशको सार्वभौमिकताको रक्षा , आत्म सम्मान र विकासकोलागी  या त नेता र जनता सच्चिनु पर्छ अन्यथा आफनो आचरण माथी कडा नियन्त्रण स्थापित हुने गरि व्यवस्थालाई सच्याउनु पर्दछ ।

     संसार विविधतापूर्ण छ । स्थान विशेषका समुदाय विशेषका सोंच, संस्कार, मूल्य, मान्यता अर्काे ठाउंको समुदायसंग मिल्दैन । यस कारण कुनै पनि राजनीतिक व्यवस्था सर्वग्राह्य  र सबैको लागी सर्वाेत्तम हुन सक्दैन । तसर्थ आफनो देशमा जुन व्यवस्थाले सर्वाधिक लोक कल्याण गर्न सक्दछ त्यही त्यसको आदर्श व्यवस्था हो भनेर लार्ड एप्टनले भन्नु भएको छ । अमेरिकामा ब्रिटिश शासन विरुद्धको विद्रोहको शुरुवात भएको फिलाडेल्फियाका निवासी र स्वतन्त्रताको घोषणा गर्ने  अधिकांश युवकहरु बेलायती नै थिए तर स्वतन्त्र भएपछि तिनले अमेरिकामा बेलायती राजनीतिक व्यवस्था फालेर नया शासन व्यवस्था बनाए र आपूmहरुले कडाईका साथ स्वयं त्यो बाटोमा हिंडेकाले अमेरिकाको राजनीतिक संसकारले देशलाई उच्च बनाएको हो । भारत, चीन, जापान र सिंगापुर को पनि उदाहरण हाम्रो सामुन्ने छ । तिनको नेताले नै देश बनाएको हो । 

         सर्वप्रथम त यो व्यवस्थाका संस्थापक र कार्यकर्ताहरुले व्यवस्थाको नीति , मूल्य र आचरणको अनुशासनमा बस्नै पर्दछ, जनताले त्यस्को लाभको प्रत्यक्ष अनुभूूति गरेकै हुनु पर्दछ अन्यथा विगत ३२ वर्षदेखि तिनीहरु नै भ्रष्ट, बेइमान, र देश बिके्रता को आचरणमा रहेको र देश लुटने लुटाउने मात्र काम भइरहेको , यो  व्यवस्था देश र जनताको अनुकूल छैन र यो व्यवस्थामा चोर डाका भ्रष्टाचारी, बलात्कारी तस्कर र गुण्डाहरु, हत्याराहरु, बिचौलिया, कमीशनखोरको मात्र भलाई र संरक्षण भएको कुरा अनुभवमा आईसकेको छ भनेचाणक्यले लेखेका छन् यदि राज्यमा न्यायको दियो निभेको छ भने त्यो कालो घनाभूत अंधकारलाई चिर्नको लागि ग्रहस्थको त के कुरा, सन्यासीले स्मेत विद्रोह गर्दछन् । यस कारण यसको परिवर्तन गर्नमा कसैले पनि संकोच नगरौं, दुनियाका कुरा नसुनौं, उनको आंखाले नदेखौं । आफनो सात्विक बुद्धि लगाऔं सोचौं र आफनो देशको माटो सुहाउंदो मौलिक व्यवस्था सहित राजा ल्याउने हो भने राजाको भूमिका पनि सहर्ष स्वीकारौं र देश र जनताको अनुकूल हुने राजाज्ञा पालन गर्ने साहस र संयम पनि राखौं । देशलाई माया गरौं, माटोको रक्षण र पोषण गर्ने मान्छे बनौं । 

www.ayodhyashrivastav.com        

-(लेखक पूर्व प्राध्यापक, प्रशासनिक अधिकारी, राजनीति र दर्शन शास्त्रका अध्येता, अधिवक्ता हुन् )    

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *