भौतिक विज्ञानको आखिरी सिद्धान्त

  कम्पनीकी एक वर्कर रोमाको पेट दुखाई बढी हुनासाथ उनको हात कलबेलमा गयो र एक छिनको प्रतिक्षा पछि एमबुलेन्स आई हाल्यो र रोमा “पेटबाट बच्चा झिकाउन” अस्पतालको अप्रेशन थिएटरमा पुर्याइइन् ।  त्यहाँ तमाम गर्भवती महिलाहरु लाइनमा पल्टी रहेका थिए । डाक्टरले पेट सुन्न गर्दै चिर्दै बच्चा झिक्दै गरेका थिए  । नर्सहरुले आमा र बच्चाहरुलाई वार्डमा सुरक्षित पुर्याई रहेका थिए । रोमाको पालो आयो र पेटबाट नानी झिकेर आमा र नानी दुवैको परिचय र सम्बन्ध लेखिएको लेबल दुवैको हातमा पहिराएर सुरक्षित बनाई दिए । समयको आधारमा भाषा पनि बन्ने गरेको छ । अब महिलाहरुले बच्चा जनमाउंदैनन् “पेटको बच्चालाई झिक्न पठाउने” गरेका छन् ।

    गर्भवती महिलाहरु कसैले आफनो निवासबाट त कसैले कामबाट जो जहाँ हुन्छ, आवश्यकता पर्दा सोझै आफै अस्पताल जाने गर्दछन् । बच्चा झिक्न पठाई सके पछि एक दुई दिन अस्पतालमा बसेर आफनो निवासमा फर्कने र आफनो काममा लागने गर्दछन् । अस्पताल बाट दुइ चार दिन पछि  बच्चा शिशु संरक्षण गृह मा पठाइन्छ । त्यहां उमेर को हिसाब ले ग्रुप बनाएर बच्चा पालिन्छन् । 

    अब विज्ञान को  Artificial Intelligence –(AI) Robotic  कृतिम बौद्धिकता, रोबोट युग छ । सन् २०७५ । मान्छेले यो समय राम्रो छ भन्छन् । न घरको, न परिवारको कसैलाई कसैको चिंता गर्नु पर्दैन । मुश्किलले  कोई कसैको आफनो घर हुन्छ । अन्यथा एक कोठा, किचन,टोयलेट आदि सुविधासहित अपार्टमेण्ट निवास कोलागि भाडामा उपलव्ध हुन्छन् । गाई, गोरु, कुखुरा, बाख्रा, खेतीपाती, बारी, बिरुवा कुनै टण्टा छैन । मस्तराम, एकलो जीवन । योग्यता अनुसार काम गर्नु छ । खाना मन लागे पकाऊ,या रेस्टुरेण्टमा खाऊ, आनलाइन मगाऊ  या  स्टोरबाट डेब्बाबंद मगाऊ, खाऊ । जन्मेका बच्चा अस्पताल बाट शिशु घर, बाल घर, र स्कूल को छात्रावासमा बस्छन् , ठूला भएपछि कुनै काममा लागेपछि एक एपार्टमेण्ट लिएर बसे भयो ।  

      आमा आफनो निवासमा र बच्चा “पालनपोषण” घर मा । आमा र बच्चा पहिचानपत्र बाट परिचित छन् र भेंटघाट हुने गर्दछ । आमाले आफनो  छुट्टी को दिन बच्चा लाई आफूसंग ल्याएर राखन पाउछन् , घुमाउन सक्छिन् । किन भने  अब केटा केटा का  बीच मा विवाह भन्ने चलन त कसैले जानेकै छैन । छोरा मान्छे र छोरी मान्छे को शारीरिक भोकले, जसले जति समय दिन चाहन्छ साथमा मोज मस्ती गर्दछन् बस्छन् । तेस पछि को कहॉ को कहॉ ? त्यो पनि झंझट लाग्छ भने त सब भन्दा सजिलो तरीका मिसरोबोट या रोबोटजी त हुनुहुन्छ नै । प्राकृतिक मान्छे जातको साथी, र  भोगका प्रेमी प्रेमिका प्राकृतिक मान्छे किन खोजी रहने ?  परिवार बनाउने त कल्पना नै छैन । स्त्री जाति को इच्छाले पुरुष स्त्री को सम्पर्कको अनुभव लिने हो, जिज्ञासावश । बिल्कुल प्राकृतिक पशु प्रवृत्ति छ, अलि अलि वानर संग मिल्छ । 

      हुनत बच्चा जनमाउनुको कुनै खासै अर्थ त छैन, किन चाहियो बच्चा? तर जवान छोरा मान्छे र छोरी मान्छेको भेटघाट को मौकामा स्त्री जाति को मनमा बच्चा जन्माउने रहर एक जिज्ञासाका साथ तरंगित भैहाल्यो भने त गर्भाधान हुन सक्दछ । लोगने मान्छे नजीक कै छ, छिमेकी या टोलको हो, परिचित छ, र सम्पर्कमा रहने गरेको एकलो मात्र पुरुष सम्पर्कमा आउने गरेको छ भने त मेरो बच्चाको बाबु यो हो भन्ने कुरा आमालाई थाह हुने भयो । तर पुरुष रमता जोगी बहता पानी, या स्त्रीले यो पुरुष या त्यो पुरुष, को पुरुष को पुरुष भन्ने धारणा छ भने त बच्चाको बाबु कसरी चिन्ने? र चिन्नु, अथवा पत्ता लगाउनु नै किन पर्यो? जब परिवार, नाता गोता, जाति, वंश, समाज, केही छदैछैन । मान्छे एकलो छ, र आमालाई मात्र चिन्ने स्थिति छ भने त बाबुको बारेमा न कसैले सोध्छ, न वास्ता गर्छ, न चिन्छ, न कसैले बताउंछ ।

         बाबु यदि शरीरधारी मान्छे हो रहेछ भने आमाले ऊसंग पहिचान गराएर उसलाई पनि बच्चासंग खेल्न डुल्न अनुमति दिलाउन सक्छिन् । तर आमा, बाबु अथवा बच्चा कसैलाई यो परिचयको फाइदा के ? काम के? तेसैले यो काम कसैले गर्दैन । यो झंझट को चलन नै छैन । केही नारीहरुको सोंचमा तरंग उठेर एउटा संतान सम्म त जन्मने गरेका छन् र यसबाट पृथ्वीमा मान्छे को जाति बॉचेको छ तर दोश्रो संतानको रहर कसैले गर्दैन । अनुभव कोलागि एक पटक प्रयोग भैसक्यो अब फेरी तेस्तो कल्पना हुदैन र कल्पना गर्यो भने पालने खर्च कसले बेहारि दिने नि? तेसैले एक एक बच्चा मात्र जन्मदा दाजु भाई,दीदी बहिनी, बुहारी, ज्वाईं,भाउजु, भिनाजु, जेठान,  भाउजु, सासु ससुरा, साला, साली, भतीज भतीजी, काका, काकी, नन्द, नन्दोई, सानीमा, सानाबा,  फूफू फूफा कुनै नाता, कुनै नाम हुदैहुदैन र यही विधिबाट विज्ञानले समाजिकता र समाज जीरो बनाउन सफल भएको हो । संसार मा मान्छेको भीडमा मान्छे एकलो छ । ऊसंग कुरा गर्ने आफन्ते कोही छैन ।  कम्प्युटर, रोबोट र कुकुर, बिराला संगीसाथी, उनैसंग एकहोरा कुरा गर्ने हो ।

     अबको मान्छे भावनाशील छैन । उसलाई भौतिक प्राणाी मात्र बनाइएको छ । बिरुवा वृक्ष जस्तो भन्न नमिलेपनि बुद्धिमान जनावर भन्नु पर्दछ । एक मानिसले अर्काे मानिसलाई सजिलै मार्न सक्छ काट्न सक्छ । कसैको मृत्युमा कसैलाई कत्ति पनि दुखदैन किनकि ऊसंग विवेक र मन छैन । हृदयहीन, भावनाहीन, रोबोट को सोंच भएको मान्छे । स्वास्नी मानिसले बच्चा जन्माउने सोझो र सरल तरीका हो कृतिम गर्भाधान । लोगने मान्छेको काम नै छैन । यस कारण अब संसार स्त्री जाति माथि निर्भर छ । लोगने मान्छे माने केही होइन । 

      जब परिवार, नाता गोता, र सामाजिक सम्बन्धको जालो नै छैन अनि आमा, बाबु परिवार, पालनपोषण, बच्चाहरुको पढाई, घर, दान, धर्म, तीर्थ ब्रत देवी देवता को जरुरत नै छैन । सबै कुरा सिस्टम मा यन्त्रवत छ । प्रकृतिले जब सबैलाई एकलो र स्वतन्त्र पैदा गरेको छ भने जानीबुझिकन कुनै  बन्धन किन बनाउने ? दुनियामा तमाम जीवजन्तु छन, सब मस्त छन् । एउटा फरक मात्र के छ भने मान्छेसंग बुद्धि छ । तर बुद्धिमान को नाताले मान्छेले सुविधासहितको निवास र भोजन पानी को राम्रो व्यवस्था त पाएकै छ । यो भन्दा बढी के चाहियो? अब AI र Robot को दुनियामा मान्छे बस्दछ । सबै काम रोबोट र मशीन बाट हुन्छ। मान्छे घुमन्ते जस्तै छ । न भीसा न पासपोर्ट । दुनिया सबैको हो । अब मान्यता यो छ कि सब समस्याको जरो परिवार हो । यस कारण यो व्यवस्थामा बच्चालाई नर्सरी र स्कूल, आमाले जहां राख्नु छ राखुन् । जवानी मा जसले जति पैसा बनाउन सक्छ बनाओस ।  सब उसको एकलैको धन हो ।  बीमारी र बुढ्योलीमा  आफनो कमाई र बचत बाट जस्तो जीवन बिताउन मिल्छ , बिताओस । अन्यथा सडक सरकारी छदैछ ।

                                                                                                                       (२)

            रोमा को छोरी आठ वर्ष की भइन् । कथा कुथुन्ग्री सुनाउनलाई बालगृहमा आज पुराना जमाना की एक ९० वर्षे बूढी अतिथि लीलालाई बोलाईएको छ ।  लीला अहिले सम्म फुर्त छिन् कुनै रोग व्याधि लाग्न पाएको छैन ।  बालगृह का संरक्षक संरंक्षिका सबै जनाले  लीला को स्वागत सतकार गरे , बच्चा र संरक्षकहरु सबैले साथसाथ खाना खाए । तर सब यंत्रवत । अनि निश्चिंत भएर कथा सुन्न बसे ।

          पहिलो दिन कथा हाल्न एक रोबोट जी आएका छन् ।  सब भन्दा पहिले उनले वालस्क्रीनमा एक भीडियो देखाउन थाले ।  महाभारत को लामो कथा रहेछ, छोटो पारेर कारटूनमा बनाएको ।  मथुरा, वृन्दावन, हस्तिनापुर  कुन्ती र पवन, सूर्य, इन्द्र अग्नि बाट संतान जन्मने, मान्छे अंतरध्यान हुने, प्रकट हुने , आकाश यात्रा, यमराज र इन्द्रलोक, ब्रह्मलोक, गोलोक को यात्रा, सयकडों र हजारौं वर्ष को मान्छेको आयु  । एकलव्यले माटोको गूरुमूर्ति संग विद्या सिकनु, कौरव, पाण्डव युद्ध । सबै हेरी सकेपछि लीलाले भनिन् – यो सब त मेरो बालपनमा सुनेको  कथा कुथुन्ग्री हो , नितान्त कल्पना हो  । तब तेहॉ उपस्थित बालगृह का अन्य मान्छेले भने – हो अलि राम्रै कल्पना गरेका रहेछन् । रोबोटजीले  केही बोलेनन् ।  तेस पछि लीला ले मेरो पालो आएछ भने मेरो भीडियो हेर्नुस भन्दै उनले  एक पेन ड्इव निकालिन र कम्प्यूटर मा लगाइन् । कोठा को वालस्क्रीन मा  भिडियो चल्न थाल्यो  ।

        इशवी सन् २००० को सेरोफेरोमा एक गांउ देखा पर्यो । लामा लामा घर, र्इंट्टा र माटो, ढुंगा को भित्ता , धेरै जसो फूसका छाना, कुनै एक घर माथी टीन र एक अर्को कुनै घरमा एक सानो पक्की कोठा । गाउँको छेउछाउमा वन जंगल । बिहान सूर्य उदयको समय छ ।  कुनै घरमा ५,७, कोई घरमा १०, १५ र कोई घरमा त पचास भंदा  पनि धेरै मान्छे, नर नारी, दुधे बच्चा देखि १०० वर्ष को सेरोफेरो या अलि बढी उमेरका वृद्ध, वृद्धा । सबै घर मान्छेले भरीभराउ छन् । कोई कोर्ईले धोती, कमीज, साडी, बिलाउज, जम्फर, लेहगा, गुन्यु, चोली, लंगोटी, भगवा,पैजामा, कट्टू, बनियाइन, सदरी, सलूका र कोट लगाएका छन् । खुट्टा त  लगभग  सबैका नांगा नै ।  धूले, हिले बाटाघाटा सडक र घर आंगना । गाई भैंसीका गोठ, कुखुरा, बाख्रा उफ्रि रहेका ।   

         कुनै मान्छेले गाई भैंसी लिएर जंगल तिर हिडदैछ , त कोईले गोरु या रॉगो नारेर हलो , कुदालो बोकेर खेत तिर लागदै छ । कोईले खेत जोत्दै छ त कसैले खेतमा पाकेको बाली काटदै छ । कुनै महिलाले कचौरामा भात लिएर को खाई को खाई भन्दै बच्चाहरुलाई भात खुवाउंदैछिन् । कोई महिला भाडा माजने,र कोई झाडू बढारु मा जुटेकी छन्  । यो गॉंउ भंदा कोस भर टाढा कोई जिमीदारले आफनो  गाउंमा छोरा पढाउनलाई शहरबाट एक मास्टर बोलाएका छन् र छिमेकी गाउंका ठूला बडाका एक दुइ बच्चा तेहाँ पढन जाने गरेका छन् । हुन त पढाई लेखाईको कुनै काम नै छैन । खाने अन्न हो भने अन्न त खेतमा फल्ने हो, किताबमा अन्न फल्ने त होइन । सबै सुख हलो मुनि । तर ठूलाबडाले हिसाब लेखन र रामायण पढनलाई एक दुई किताब पढने गर्दछन् ।  एक बालक व्यागमा  किताब राखेर हातमा काठे पाटी, खरी र पोतने भाँडो बोकेकोछ । गुरुकहाँ आफू बस्नलाई काधमा बोराको एक टुक्रा पनि लिएर हिंडेको छ ।

         हेर्दा हेर्दै साँझ परेको छ । कोई घरमा तोरी तेल र कोई घरमा अरंडी या आलसको तेलको दियो बलेको छ भने कोई कोई घरमा मट्टी तेलको कुप्पी या टुक्की बलेको छ । टुक्कीका मुखमा लागेको पेचले त बलेको ज्योतिलाई तल माथि उठाउन झार्न सकिने रहेछ । कोई जिमीदारहरु कहाँं त लालटिन बलेको रहेछ । यौटा घरमा पाहुनाका साथ घरका मान्छे भान्सामा भुईंमा पिर्कामा बसेर भात खाँदै छन् । तेसपछि बाहिर पालीमा या आँगनमा बसेर कोईले हुक्का, कोईले कक्कड, पिउँदैछ भने कोईले सुपारी, सुर्ती या पान खाँदैछन् । कसै कसैको दुवारमा दुइ चार जना मान्छे बसेर गफ गाफ, कथा वार्ता, हाँस ठट्टा गर्दै छन् । कोईले रानी शरंगाको कथा भन्ने र कोईले रामायण या आल्हा, या मामी सौरीको कथा  गाउंदैछन् । साँझ को समय गाउँको वातावरणमा निकै चहल पहल रहेछ । 

          घरमा स्त्री पुरुषको बेगला बेगला खाट र बिस्तरा रहेछ । कोई केटा केटी आमा संग त कोई बाबुसंग पल्टेर कथा कहानी सुन्दै संसकारित हुंदै छन् ।

      एक जनाले  खलिहान बाट बयलगाडामा धान बोकेर घरतिर जान लाग्दा गांउमा गाडाको एक पाँग्रो बाटो छेउको खाल्टोमा पर्न गएछ र गोरुले गाडा तान्न सकेनन् । अनि त बाटो हिडने मान्छे र छिमेकी जुटी हाले । कोईले पछाडीबाट धकेल्यो त कोईले पांग्रो उचाल्न थाल्यो, गाडा निस्क्यो ।  एउटा घरमा  कोई महिलाको बच्चा जन्मने बेला भएको रहेछ र गाउँका जान्ने बुझने अनुभवी बुढीहरु आ आफना घरका काम काज छोडेर दौडी हाले । तन्त्र मन्त्र र फुक झार गर्ने धामी झाक्री, गाउँले जडीबूटीका जानकार अनुभवीहरु, ज जसले चर्चा सुन्यो आफै तेस घर तर्फ सहयोग गर्न भनेर दौड्यो । अंतमा बच्चा सजिलेै जनमेछ । तेही बेलाअर्को टोलमा आगो लाग्यो भनेर हल्ला भयो । कसैको घरको छाप्रो बल्न थालेको धुवाँको मुस्लो देखा पर्याै । त्यो देखनासाथ गाउँका मान्छे बालटीन, डोरी, आँसी फरुहा, आदि जसको हातमा जे आयो, समात्यो र तेता दगुर्यो । कोईले कुंआंबाट पानी तान्न थाल्यो, कोई पानी बोकेर आगो निभाउन थाल्यो । कोईले गोठमा बाँधिएका पशुहरुको डोरी छिनाल्दै बाहिर धपाउन थाल्यो र कोईले घरको सरसामान बाहिर निकाल्न थाल्यो । सबैको प्रयाशले आगो निभ्यो खासै नोकशान हुन पाएन ।

            लीला ले देखाउनलागेको यो भीडियो देखेर संरक्षिका एक बीस वर्षे युवती ले भनिन्– यति पछौटेपन भएको समाज ? पुरा जंगली मानिसहरुको कथा हो कि कसो? प्रतेक अवस्थामा अर्कामाथि निर्भर रहनु पर्ने कस्ता जंगली असभ्य मानिसहरु । अर्को  मानिसको सहारा नलिए सम्म त बाँच्नै नसकिने रहेछ । यसतो मान्छे पनि यो पृथ्वीमा कतै थियो कि यो पनि कल्पना नै हो? ती नानीको कुरा सुनेपछि अरु संरक्षकहरुले यो पनि कल्पना नै हो भनेर टिप्पणी गर्न थाले । 

         तब लीला ले भनिन् होइन यो कल्पना होइन । महाभारत रामायण को कथा कल्पना हो तर यो मैले देखाएको भीडियो त सोरै आना साँचो हो । मेरो आफनो समयको भोगाईृको सत्य इतिहास हो । जब AI र Robot को युग आयो र पुरै  ज्ञान विज्ञान टेकनालोजी समाज र व्यवस्था माथी विज्ञान को कव्जा भयो तब पुरानो समाज र व्यवस्था सब सकियो । मेरा साथका र म भन्दा पनि जेठा मान्छे  औलामा गन्न सकने गरी केही जना बाँचेका छौं । तिमीहरु त नया युगका मान्छे हौ त्यो संसार देख्दैदेखेनौ र कल्पना त भन्ने नै भयो ।

         संरक्षकहरुमा एक जना अर्को पनि अलि उमेरले पाको देखिएका मान्छेले भनेँ– लीलाको सबै कुरो साँचो हो । तिमीहरुले रोबोट युगमा आँखा खोल्यो र तेति मात्र थाह पाउँछौ जति तिमीहरुलाई प्रविधि ले बताउँछ र रोबोटजीले सिकाउँछ । म त भन्छु त्यो युगमा मान्छेले स्वतन्त्र सोंचन त सक्थ्यो । तर अब त तेति मात्र हुन्छ जति AI ठीक मान्छ । तेसो हुनाले अब AI ले प्रविधिलाई कमसेकम ७५ वर्ष पछाडी लैजान र  यताको सबै विकास डिलिट गरि दिन वेश होला र मान्छेको बुद्धि र व्यवस्थालाई मुक्ति दिनु पर्दछ । 

             यति कुरा हुना साथ चार पाँच ओटा रोबोटहरु नमालुम कताबाट प्रकट भए र उभिए ।  त्यस मध्येबाट एउटाले भन्यो– जुन रामायण र महाभारतकालीन कथाको घटना र विकास जे जति छ सब साँचो हो । , हामी भूतकाल मा प्रवेश गरेर सबै देख्न सक्छौं । तर समयचक्र पछाडी तिर फर्कदैन, जहिले पनि अगाडी नै बढने हो । अहिले सम्म , भौतिक विज्ञानमा अध्यात्मिक सोंचलाई  बिलकुलै त्यागेर मान्छेको जातिलाई, कुनै मान्छेको सहयोग बिना कसरी जीवित, सुरक्षित, र खुशी राख्न सकिन्छ भन्ने तिर मात्र परिक्षण  गर्यो । दया, माया, सद्भाव, परोपकार, त्याग, भाव संवेदना, प्रेम, परिवार र समाज  बिना मान्छे लाई दुनियामा रहने लायक बनाइएको छ ।        

 सबै ठाउंमा हामी रोबोटहरुले काम गरेका छौ । शिक्षक, डक्टर, सर्जन, इन्जिनियर, लेखक, कवि, लेबर, ड्रइभर, पाइलट, किसान, मान्छेको प्रेमी प्रमिका सम्म बनेर सबै काम हामीले मानिस भन्दा सफा, सुरक्षित र टाइम मा गरेका छौं । मान्छेले त हामीलाई अपरेटिंगमा सहयोग गर्दछ र सबै क्षेत्रमा हामीसंग मिलेर थोर थोरै काम मात्र गरेको छ । तर पनि मान्छेलाई यदि सुख र संतोष छैन भने अझै वैज्ञानिक विकासको एक चरण बाकी छ । (१)अब बच्चाको जन्म हुनासाथ यसको पेट को आपरेशन गरेर आँद्रा भुडी झिकिने छ । यसबाट भोक लागने र खाने समस्या समाधान हुन्छ । (२) मान्छेलाई चरा झैं उडन लायक बनाइने छ । यति भएपछि यो दुनियामा मानिस जाति दैनिक समस्या बाट मुक्त हुने छ । 

      तर, यदि तैपनि समस्या बाकी रहन गयो भने नि ?  तब के गर्छा त ? लीलाले सोधिन् ।

        रोबोट ले भन्यो– अनि त तेही हुनेछ जुन हँुदै आएको छ । अर्थात फेरी परिवर्तन । किनभने हामी रोबोट र  अत्यधिक विकसित ज्ञान र प्रविधि, उमेर त सबैको निश्चित छ नि । बहुत चल्यो भने एक सय पुस्ता । कुल मिलाएर लगभग ५०, ६० वर्ष । माने सन् २१५० या खुबै बढाउने हो भने कति बढन सक्छ ? अहिलेको विकास प्रविधिको गति सूर्यको किरण भन्दा कम गतिमान छैन यस कारण मुश्किलले सन् २२०० सम्म । तबसम्म धरतीको सतहमा बहुत परिवर्र्तन आई सकने छ पृथ्वीको भित्री प्लेट अर्काे प्लेट माथि चढदै गएकोले निकट भविष्यमा भूमिको कुन कुन भाग र कति  पहाड  नदी समुद्र ,यताबाट उता जाने छनु, मिटने र बन्ने छन् थाह छैन । 

यो युगमा विज्ञानले अहिले सम्म अध्यात्म र  नैतिकता  बिना  एकलै, भौतिक धरातल मा काम गरेको छ । तर  जब विज्ञान आफनो अन्तिम यात्रा, विकास को आखिरी विन्दुमा  पुगने छ र अगाडी जाने ठाउँ नै हुँदैन तब विज्ञानले घमण्ड र अकड छोडेर एकदम नरम भएर, परिक्षणबाट सिद्ध नभए सम्म मान्दैन भनेर जिद्दी पनि नगरेर, अध्यात्मको प्रथम सिद्धान्तलाई भौतिक विज्ञानको अंतिम सिद्धान्त भनेर स्वीकार गरि हाल्ने छ, शिरोधार्य गरि हालने छ ।  “ब्रह्म सत्यं जगत मिथ्या” । भनि हाल्ने छ ।

      तब  विज्ञान न एकलै हिडने छ, न अगाडी नै हिडने छ ।  अध्यात्म , जसमा दया, क्षमा, परोपकार, नैतिकता सहकार्य, दिव्य शक्ति , र समाज रहन्छ  र  विज्ञान जसमा अनुसन्धानात्मक प्रवृत्ति छ, साहस छ र अंधविश्वास बाट मुक्ति छ । ई दूवैले मानव को अध्यात्मिक विकास कोलागि भौतिक विकास गर्ने अन्तिम लक्ष्य लिएर साथैे हिडनु पर्ने छ ।  दुनिया एक नया सोंच र नया संभावना लिएर अघि बढने छ, बढदै जाने छ । तब समयचक्रमा तेही सहयोगी सहधर्मी समाज, एक सुसंस्कृत शुद्ध बुद्ध समाज, लीलाजीको समाज, फेरी अगाडी आएर भेटि हाल्ने छ  ।

      त्यसो हो भने, हिंडदै, दौडदै अत्तालिंदै लडदै पडदै पूरा चक्कर लगाएर यदि यही ठाउंमा फर्केर आउने हो भने यो मिथ्या दौड र प्रतिद्वन्दिता किन ? विज्ञानले अहिले देखि नै सत्य स्वीकार गरेर अध्यात्म को साथ साथ मित्रवत हिडे भयो नि । अनावश्यक विध्वंश किन निम्त्याउने ? लीलाले भनिन् ।

       तपाईं मानिसहरुको अतृप्त उच्च महत्वाकांक्षा, तृष्णा, सुखभोग, निजी स्वार्थ र अहंकारले त्यस्तै गरि रहेको छ । ई चीज हामीसंग छैनन् नि र विज्ञान त मानिसको हातको खेलौना बनेको छ अनि विज्ञान र विज्ञान का सन्तान हाम्रो के दोष ? रोबोटले जवाफ दियो ।

     तेहाँ  उपस्थित मानिस र कम्प्यूटर, मशीन, रोबोट सब एक अर्काको मुखामुख गर्न थाले । 

                                                                                                 Ayodhya.p.shrivastav@gmail.c

                    (  लेखक पूर्व प्राध्यापक,प्रशासनिक अधिकारी,राजनीति र दर्शनशास्त्र का अध्येता, अधिवक्ता हुन )

One thought on “ भौतिक विज्ञानको आखिरी सिद्धान्त

Comments are closed.