Politics
नागरिकता समस्याको समाधान ः मृत्यु र आत्महत्या सम्म
हालै २०८२ को मंगसीर महिनामा बर्दियाको सोरहवा वार्ड नं ४ दक्षिण भकारीकी अंजु थारुले नागरिकता प्रमाणपत्र पाउन नसकेकोे कारणबाट मन दुखेर आत्महत्या नै गरिन् र तिनका बाबुको पनि त्यही विषयमा मृत्यु भएको घटना सम्बन्धमा सरकारले छानबीन समिति गठन गरेर बर्दिया पठाएको भनेर गत २१ गते देखि समाचारमा आई रहेको छ । यो दुखद घटनाकोलागि प्रधानमंत्रीले माफी पनि मागनु भएको छ । उक्त छानबीन समितिले त्यस सम्बन्धमा निष्कर्ष देला नै, यस कारण तेता तिर न जाउँ । यो घटनामा संचारतन्त्रको सक्रियताले गर्दा सरकार पनि सक्रिय देखिएको छ तर नागरिकता प्रमाणपत्रको स्वप्न देख्दै मृत्यु हुने नागरिकहरु कति छन् कति । त्यसको लेखाजोखा कसैसंग छैन ।
नागरिकता प्राप्ति र वितरणमा समस्याहरु त छन् नै । केही त संविधान र कानूनले श्रृजित भएका छन्, र केही त जनप्रतिनिधि र सेवाप्रदायीतन्त्रको नियम कानूनको अज्ञानता,तालीमको अभाव, कोही कोहीमा त संकुचित या विभेदयुक्त मनोभूमिमा उपेक्षा गर्ने र पछि आउनु, अथवा हुँदैन भनेर दिइने गरेको ठाढो जवाफले पनि समस्या श्रृजना भएका छन् । यो लेखकले नागरिकताको प्रचलन,समय समयका कानूनी व्यवस्था, मुख्य परिपत्र, विदेशीले विभिन्न तरीकाले नागरिकता पाएका , तथा स्वयं आफनो अनुभव समेटेर प्रस्तुत गरेका लेखहरु समाचारपत्रहरु मा प्रकाशित भएका छन् र केही मेरा वेभसाइटमा पनि छन् । तेसैले तिनमा उठीसकेका कुराहरुको धेरै पुनरावृत्ति न गरि केही थप समस्याहरु यहाँ राख्दै छु ।
१, पहाड कुनै जिल्लाको घर्ती या मगर जस्तै कोई जातिका एक गरीब युवा दम्पति काठमाण्डूमा डेरा गरेर ज्याला मजूरी गरि बसेको अवस्थामा दम्पति मध्येका एक जना बेपत्ता भएका र अर्काेले आत्महत्या गरेकोले नाबालक बाल बालिकाहरु येनतेन बालिग भएपछि केटाले नागरिकता बनाई ज्याला मजूरी गरि आज पनि काठमाण्डौमा रहेको छ भने दीदी (वा) बहिनीले, वंशज नाताको नागरिक एक तराईबासी दलित केटा ज्याला मजूरी गर्न गएको अवस्थामा केटीले प्रेम विवाह गरि तराईमा दलितको घरमा रहेबसेको र अहिले उनीहरुबाट ससाना बच्चाहरु छन् । ती नानी गाउँदेखि जिल्ला सम्म धाई सकिन् तर न सिफारिस हुन्छ,न नागरिकता बन्छ, न बच्चाहरुको जन्म दर्ता हुन्छ ।
२, भारतमा हरियाणा प्रदेशको कुनै अज्ञात गाउँका एक दम्पति दिल्लीमा काम गर्दै यत्रतत्र डेरा सर्दै एक छोरी जन्मेर हुर्केर युवा अवस्थामा पुगेकी र ज्याला मजूरी गर्न गएको एक नेपाली दलित तराईबासी वंशजको नागरिक केटासंग प्रेम भएर नेपालमा आई विवाह गरि घरजम गरी बसेका छन् र स साना बाल बच्चा छन् । ती नानीलाई अब आमा बाबु कहाँ छन् अत्तो पत्तो छैन । हरियाणाको जिल्ला गाउं बस्ती केही थाह छैन । तिनले वैवाहिक अंगीकृत नागरिकता पाउन सकेकी छैनन् ।
३, पुख्यौली घरबासको नम्बरी प्रमाणपुर्जा भएको, देशी गोडिया जातिका अधवैसे बाबुबाट २००८ सालमा जन्मेको एक मात्र छोरी, बाबुले भारतीय घरज्वाईं राखेर बाबुको २०२५ साल तिर र आमाको धेरै पहिलेनै स्वर्गबास भयो । ज्वाईंको पनि २०३२।०३३ ताका स्वर्गबास भयो । २०५३ सालमा पुनरसर्वे नापी हुंँदा,र जग्गाहरु नयाँ नापमा नया पुर्जामा आएर नयाँ तिरो तिरान चलीसकेको यतिका वर्ष भै सक्यो । नयाँ कानूनले श्रृजित गरेका बाबुको नागकिता (जो पहिले बन्ने चलन नै थिएन), को कानूनी अडचन, र हाकिम का स्वविवेकीय अधिकारमा कानूनी अवरोध आदि कारणहरुले गर्दा न तिनले नागरिकता पाएकी छन् र न त जग्गाको नयाँ प्रमाण नै । सरकारी तिरो पनि मरेको छ । यस्तो जग्गाको बारेमा कानून मौन छ, हाकिमको तजबीजले काम भएन भने जग्गाकै भविष्य अंधकारमय छ ।
४, २०३२।०३३ को प्रथम नागरिकता टोलीबाट जन्मसिद्ध अस्थायी निस्सा प्राप्त गरि स्थायी नागरिकता प्रमाणपत्र पाएका देशी गोडिया जातिका मानिसको नागरिकता प्रमाणपत्र आगलागीमा जल्यो । जिल्ला प्रशासनको श्रेस्तामा कार्यालय प्रति फेला नपरेको । तर टोली रजिष्टरको अभिलेख सुरक्षित रहेको । कार्यालयले नयाँ श्रेस्ता खडा गरि प्रमाण पत्र दिनलाई दशौं वर्षको प्रयाशबाट पनि हुन नसकेकोले नागरिकताको स्वप्न देख्दै ३,४ वर्ष पहिले निजको मृत्यु भयेको छ । उनको नागरिकताको रेकर्ड कार्यालयमा भएपनि उनीहरुसंग नभएकोले उनकी पत्नी र जवान छोरा शाखा सन्तान बिना नागरिकताका छन् । तिनीहरुको घर जग्गा आदि केही रहेछ भने त्यस्को स्थिति के होला ?
५, कुर्मी जातिका दुई दाजु भाईहरु मध्ये दाई भाउजु सं २०१२ साल ताका कलराको महामारीमा स्वर्गबास हुंदा एउटी काखे नानीको पालनपोषण भाईको परिवारमा भयो र भाईले पछि तिनको विवाह गरि दिए र उनी आफनो घर गइन् । २०३२,०३३ को शुरु टोलीमा उनका पतिको र काका को नागरिकता बनेको छ । पछि पति र काका को स्वर्गवास भयो । दुवै तिरका पुरुषहरुको नागरिकता बन्दै गयो तर ती महिलाको काकाको नागरिकताले मान्यता पाएनछ र २०१० ताका नागरिकता बनाउने चलन नै नभएको अवस्थाका बाबु आमाको नागरिकता नभएकोले ति महिलाको नागरिकता बनेनछ पतिको नागरिकताको कुनै अर्थ नै लागेनछ । नागरिकता टोलीमा नागरिकता दिन्छ भन्ने आशामा बुढी भैसकेकी ती गरीब बृद्धाको २०८२ वर्षाताका स्वर्गवास भएको छ ।
६, माइती र घर पट्टी सबै नेपाली नागरिक भएका मुसलिम महिला जस्लाई २०३२।०३३ को नागरिकता टोलीले नागरिकताको अस्थायी निस्सा समेत दिएको रहेछ, बालबच्चा भएपछि विधवा भएकी ती महिला नेपाली नागरिकता भएको अविवाहित हिन्दूलाई पति वरण गरि घर जम गरेर बसेछिन् ।केही वर्ष पछि दोश्रो पतिको पनि स्वर्गवास भयो । उनको अस्थायी निस्सा पूर्व पतिको घरमा छुट्यो या के भयो ?भेटिएको भए ३०।४० वर्ष पछि अस्थायी निस्साको मान्यता हुने नहुने यो छुट्टै विषय बन्न सक्थ्यो । तर नागरिकताको विषयमा नागरिकता दिने कार्यालय को रेकर्ड भन्दा स्थानीयको सिफारिस र सनाखत नै अनिवार्य तत्व मानिएकाले र तिनी महिलाले धार्मिक विद्वेषका कारण सर्जमीन, सनाखत आदि पाउन नसकेकीले नागरिकता बनाउन सकिनन् । सं.२०८० ताका तिनको स्वर्गवास भयो ।
७, २०३२,०३३ को टोलीका समयमा गाउँमा सर्वाधिक उमेर भएको नाताले गाउँलेहरुको नागरिकताको मुचुल्कामा साक्षी बस्ने एक यादवका लागि निज भन्दा जेठो कोई हँुदै नभएकोले साक्षी बसि दिने कोई भएन । टोलीले आफनो काम बनायो र यसपछि सर्जमीन गर्नु नपर्ने कानून आउँदैछ भनेर हिंड्यो । ती शताब्दी पुरुष पनि २०८२ कार्तिक देखि मसानघाटमा नागरिकता टोली कुर्दै छन् ।
८, केही यस्ता पनि छन् जस्को बाबु नेपाली नागरिक तर आमा नेपाली नागरिक की छोरी भएपनि नागरिकता नबनाएर प्रशववेदनामा मृत्यु भएको छ । अर्काे, कुनै विदेशी महिलाले नेपालीसंग विवाह गरेर बच्चा जन्माएर पतिलाई छोडेर आफनो देश फर्कि छन् । अब त झन् नया चलन– नेपाली नागरिक संग लिभिंग टुगेदरमा बसेर बच्चा जन्माउने र आफनो देश फर्कने । अब आमा बाबु दुवैको नागरिकता खोजने हो भने र नागरिकता विहीन आमाको संतानले बाबुको तर्फबाट नागरिकता नपाउने हो भने वंशजको अर्थ के ? पुरुषबाट वंश परम्परा चल्ने भनेर ऋषिहरुले गरेको अनुपम खोजलाई आज विज्ञानले क्रोमोजोम को सटीक वैज्ञानिक आधार रहेछ भनेर सराहना गरेको कुरा के हाम्रा विधिनिर्माताहरुलाई थाह नहोला ?
(९), नागरिकता विहीन हज्जाम जातिका आमाबाबुको स्वर्गवास पछि बच्चाकी आमाले काखे बच्चा सहित अर्काे हज्जाम नेपाली नागरिकसंग पुनर्विवाह गरेर गएकी छन् । उनले नागरिकता पाएकी छन् । अहिले जवान उनको छोरा नागरिकताविहीन छ ।
(१०), नागरिकतादेखि वंचित रहदैआएको बाबु बेपत्ता भएको, काखे बच्चा र नेपाली नागरिकताप्राप्तआमा आफनो घरमा सुतीरहेको अवस्थामा माओवादी र सुरक्षा फौजको भिडन्तहुंदा घरमा छिरेको गोलीले आमाको मृत्यु भएको र अनाथ छोरालाई सरकारीतन्त्रबाट पलनपोषण र आईए सम्म शिक्षादीक्षा भैसके पछि उच्च शिक्षा र अन्य आवश्यकता पूरा गर्नलाई चाहिएको नागरिकता प्रमाणपत्र पाउन यत्र तत्र धाउँदै गत वर्ष देखि भरखरका नवयुवक ती केटा हताश निराश देखिन्छन् ।
(११¬) २०६३ को एैनले जन्मको आधारमा नागरिकता दियो बालिगले लिए नाबालक र बाहिर गएका दाजु भाई छुटे । सम्पत्तिमा अदालतले सबको अंश भाग लगाउँछ तर बिना नागरिकता बाँडने कसरी ?
समस्याका कारणहरु
(क) उपर्युक्त ९ नं सम्मका सबै पीडितहरु अनपढ., गाउँले जीवन, पूर्णतया गरीब स साना झोपडीमा बस्ने, दैनिक ज्याला मजूरी गरि पेट भर्ने र काममा नगएको दिनमा चुल्हो नबल्ने हुनाले दैनिक अड्डा धाउन समय नपाउने र बलियो सिफारिस लगाउन नसकने ।
(ख) शुरुको टोली ताका कर्मचारी, जनप्रतिनिधि,र केही जाने बुझेको व्यक्ति सबै अन्यौलमा थिए , जनता त अति पिछडिएको अवस्थामा कर्मचारीसंग बोल्न डराउने र कर्मचारीले जे बतायो त्यसैलाई होस हजुर भनेर हिडने समय थियो । पंच प्रधान र टोलीले पनि जस्को नाउँमा जग्गा जमीन छ या कि त जसले जागिर खानु छ उसलाई नागरिकताको जरुरत पर्न सक्ला अरुको के काम भन्ने आम धारणा थियो । यस कारण एकै परिवारमा पनि कोईले नागरिकता लियो कोईले लिएन । देशी समाजमा महिलाहरुले नागरिकता लिने जरुरत नै ठानिएन । अझ कतिपयले त अस्थायी निस्सा लिएर पनि स्थायी गराएनन् । त्यस पछिका टोलीहरुले पहिलेको टोलीमा नागरिकता किन लिएनौ भनेर पन्छाउन सजिलो भयो र अब त झन् नेता र कर्मचारीले केही जटिल विषय छानेर त्यसैमा अलमलिएका छन् । यस्ता पीडित व्यक्ति उच्चस्तरको कर्मचारीसम्म पुग्नै गाह्रो, पुग्यो भने समस्या बुझाउनै गाह्रो र हाकिम संग वास्तविक समस्या नबुझने समय छ र न त समाधान तिर सोचने फुरसत । पछि आउनुु भन्यो सक्कियो ।
(ग) उपर्युक्त सबै पीडितहरु शुरु देखिका भोटर हुन तर पछि नागरिकता पेश गर्न नसकनेको नाम भोटरदेखि हटि सकेकोले अब जनप्रतिनिधिहरुलाई एक त तिनको भोटको आश रहेन र दोश्रो कुरा पार्टीले टिकट दिने र जिताउने हुनाले पार्टीको काम गर्ने मान्छेले समाजमा एक निश्चित वर्ग सम्म यदाकदा पुगनेबाहेक तल्लोस्तर सम्म गएर आफैले समस्या बुझने आवश्यकता नै छैन । तसर्थ तिनले यस्ता समस्यामा रुचि लिन छोडे भने सरकारले हाम्रो ग्रामीण परिवेशमा मानिसहरुको डर, संकोच, पछौटेपन, गरीबी, अज्ञानता,चलन, संस्कार, मान्यता र भाषागत अप्ठेरा तथा कर्मचारीको समझाई बुझाईबाट श्रृजित समस्याहरुको अध्ययन र समस्याको पहिचान नै नगरेर हचुवा तालमा कानून बनाउने आजको प्रवृत्तिले गर्दा २०२० सालको नागरिकता कानून अनुसारको सरलता पनि मेटाई झन् जटिल प्रावधान राखेर स्थानीय प्रशासनलाई निस्तेज र यन्त्रवत काम गर्नु पर्ने कानूनहरु भिराईएकोले विदेशी र जाली फटहाहरुकोलागि सजिलो तर वास्तविक नागरिकहरुलाई गाह्रो पारिएको छ ।
(घ) वैवाहिक अंगीकृतलाई अपेक्षाकृत सब भंदा सरल र खतरामुक्त मान्नु पर्दछ । किनकि यसमा त निवेदिकाले स्वयं आपूmलाई विदेशी उल्लेख गरेकै हुन्छ र हामीले पनि त्यही उल्लेख गरेर दिने हो । तर यसमा अप्ठेरो के लगाए भने भारतबाट आएकी दुलहीको बाबुको राशनकार्ड । के भारतको प्रत्येक राज्यमा प्रत्येक स्तरको नागरिकले राशनकार्ड पाउँछ ? अर्काे कुरा, माथि उल्लेख भए अनुसार एक महिलाको माइती आमा बाबुको स्थायी घर र हाल तिनीहरु कहाँ छन् थाह छैन ? तेश्रो, कुनै पनि देशले अर्काे देशबाट यो यो प्रमाण ल्याऊ भनेर माग्दा त्यो देशले दिने नदिने उस्को चलन र अधिकार हुन्छ । जस्तो कि रुस र भारत आदि देशले नागरिकता परित्यागको प्रमाणपत्र दिने व्यवस्था नै छैन । अर्काे महत्वपूर्ण कुरा, त्यस्तो प्रमाण सक्कली नक्कली जाँचने कसरी र नक्कली देखियो भने हामीले के गर्न सक्छौं ? यी कुराहरुमा विचार नगरेर ठाढो र अंधो आदेशले पनि अप्ठेरो पारेको छ ।
(ड०) तमाम रोगका सटीक औषधि छैनन् तर कुशल चिकित्सकले आफैले तरीका खोजेर उपचार गर्दछन् । कोईलाई त आईसीयुमा हाल्छन् र भेण्टीलेटरमा पनि । रोगीले अंतिम स्वाँस सम्म उपचार भैरहेको भन्ने कुराको अनुभूति गरि रहेको हुन्छ । त्यस्तै तमाम समस्याको कानूनी सटीक उपचार नहुन सक्छ तर कुशल हाकिमको तजबीजले बहुत समस्याको समाधान गर्ने गरेको देखिएको छ र समाधान हुन नसकेपनि सेवाग्राहीले उस्कोलागि प्रयास भैरहेको भन्ने कुरा स्पष्ट देखिनु त पर्दछ । कर्मचारीले नागरिकलाई तिम्रो काम हुँदैन भनेर ठाढै त भन्नै मिल्दैन , उस्ले बाटो बनाउन मद्दत, र समाधानको प्रयाश पनि गरेकै हुनु पर्दछ ।
यो समस्या सानो होइन , नेपाली नागरिकका यी सन्तान र दाजुभाई दीदी बहिनीहरुको जनसंख्या शाखासंतान बढदै विशाल आकार लिएपछि फेरी आन्दोलन, फेरी समझौता र एककासाथमा बाहिरबाट घुसपैठमा फेरी लाखौं नागरिकता वितरण । न झ्याल, न ढोका, अब त झन् भित्ता नै भत्काइएको, खम्बामा मात्र छानो झुण्डिएको घर जस्तै अवस्थाको देशमा फोडा पाली राख्दा हुने खतराको विचार गर्नु पर्दछ ।
एक नारी जाति र उनका पिताको दुखद निधनले पुनः यस्तो लेख्न लगायो । अन्यथा लेखबाट के नै हुन सक्दछ ? लेखमा केही अन्य मृत्यु यो २०८२ मा पनि भएको उल्लेखित छ अरु नमालुम कति मरे होलान् । मृत्युको तरीका जस्तो भएपनि यस्ता सबै मृतकमा एक कुरा एक समान के छ भने सबैलाई बिना नागरिकता मर्दैछु भन्ने पीडा रहेको अनुमान गर्न सकिन्छ । जुन देश को नेतृत्व र शासन प्रशासनमा नागरिकको जीवनको सर्वाधिक आवश्यक समस्याको समाधान उसको मृत्युलाई, (परोक्ष रुपमै भए पनि), यदि समाधान मानिन्छ भने त्यो शासन प्रशासन नागरिककोलागि हुँदै होइन । प्रजातन्त्रको एक मूलभूत मान्यता के छ भने शासन प्रत्येक नागरिकको घर घरमा व्यक्ति व्यक्तिसम्म पुग्नु पर्दछ यदि नागरिकले आफनो समस्या लिएर शासनमा निवेदनसाथ धाउनु परेको छ भने त्यो शासन नागरिककोलागि हुँदै होइन ।
छानबीन समितिले जे सुकै ठहराओस तर जो मर्यो त्यसलाई काम लागने होइन, ऊ फर्कने होइन । यो विषयका पीडित तमाम मृतकहरुलाई हार्दिक श्रद्धांजलि ।
( लेखक पूर्व प्रशासनिक अधिकृत, प्राध्यापक, राजनीति र दर्शनशास्त्रका अध्येता, अधिवक्ता हुन्)
ayodhya.p.shrivastav@gmail.com
Interesting read! Analyzing past results and platform data (like transparent RNG systems at 26jl casino) gives a fuller picture. Retention rates are key – good security & RTP matter! Solid insights here.