नेपाली धार्मिक पर्यटन को समस्या साँस्कृतिक भिन्नता


– अयोध्या प्रसाद श्रीवास्तव
नेपाल विश्वको सर्वाेच्च शिखर सगरमाथा, सुन्दर र स्वस्थकर हावापानीको नगर पोखरा र अन्य शहर तथा स्थानहरु, विभिन्न राष्ट्र्यि निकुंज र प्राकृतिक सुन्दरताले गर्दा यद्यपि विदेशी पर्यटकहरुको लागी आकर्षक गन्तव्यको रुपमा परिचित रहेपनि विभिन्न देशका बौद्धमार्गीहरुकोलागि प्रमुख तीथस्थल पनि भएको र सेतुई अमावस्या अर्थात बैसाखको अमावस्या देखि भाद्र श्रीकृष्णजन्माष्टमी सम्म भारतीय हिन्दू संस्कृतिमा तीर्थाटनको निकै प्रचलन रहेकाले नेपालका ई विविध आकर्षणहरु पनि भारतीय हिन्दूहरुकालागि धार्मिक पर्यटनकै मान्यतामा रहँदै आएका छन् ।
विविध शास्त्रले नेपाल भूमिलाई देवभूमि पुण्यभूमि भनेको र यो भूमिमा भगवान पशुपतिनाथ, भगवान मुक्तिनाथ, भगवती सीताको पुण्य जन्मभूमि जनकपुर, भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी , वाराहक्षेत्र, त्रिवेणी, चतराधाम, देवघाट र जुम्लाको श्री चन्दननाथ भगवान सम्मका अंतरराष्ट्र्यि स्तरमैपनि चिन्हित, प्रमुख दिव्य स्थानहरुका साथै यो देवभूमिमा विभिन्न स्थानमा विभिन्न देवी देवताहरुका सैकडौं मन्दिर, श्रीविग्रहहरुका दर्शनार्थी तीर्थालुहरु भारतबाट धेरै संख्यामा आउने गरेका छन् ।
यो विसं २०८३ को जेष्ठ अधिकमासलाई पुरुषोत्तम मासको मान्यतामा हजारौं भारतीय तीर्थालुहरु नेपाल आएका छन् । तर तिनका बारेमा सामाजिक संजालमा फोहरी, असभ्य र अपमानजनक शव्दमा लगातार बहुतै आलोचना भैरहेको र तीर्थालुहरुको पक्षमा लेखनेहरुमाथि मौरी झैं टोकने शव्दमा टिप्पणीहरु भैरहेका छन् । पोखरा नपा.का केही व्यक्तिले हामीले ठाउँ उपलव्ध गराउन नसकेकोले तीर्थालुले दुख पाएको हो वहाँहरुको गल्ती छैन भन्ने पोस्टहरु पनि फेसबुकमा देखिएका छन् तर तिनीमाथि पनि असभ्य टिप्पणीहरु गरिंदै छन् । यस्तो आलोचना र अवहेलना विशेषतया काठमाण्डु र पोखरामा अधिकायत रहेको छ । यो कुनै षडयन्त्रकारीको नियोजन हो कि भन्ने शंका गर्ने ठाउँ पनि छ । जे होस , पक्ष विपक्षका दोहरीका बीच तीर्थालुहरुको तीर्थयात्रा धार्मिक पर्यटन चलि नै रहेको छ ।
तीर्थालुहरुमाथि मुख्यतया दुइवटा कुरामा आपत्ति गरिएको देखिन्छ । १, होटलहरुमा नबस्ने नखाने, आफैले यत्रतत्र पकाउने खाने र बाहिर सुत्ने हुनाले शहर र बाटाहरुमा फोहर भएको । २, नुहाएका कपडा साडी,व्लाउज, पेटीकोट आदि कपडा पार्क र अर्काको तारबारमा सुकाउने गरेकाले फोहर देखिने गरेको छ ।
तीर्थयात्रामा हजारौं श्रद्धालु भक्तजनको भीडमा सबैले सबै ठाउँमा समुचित स्वक्ष, पवित्र र सुरक्षित स्थान र धर्मशाला नपाउनु, शाकाहारी र तीर्थयात्रीले होटलमा खान बस्न अनुचित मान्नु र बाटो घाटोका छेउछाउ, पार्क उद्यानहरुमा निषेधित नभएको सफा ठाउँमा खाना पकाएर खानु सुत्नु जस्ता सामान्य अवस्था हुन् । तथापि हटारुहरु बाहेक आजका सभ्य नेपाली (खास गरेर पहाडी समुदाय) का व्यक्तिले त्यस्तो संस्कृतिको अनुभव नपाएकाले पनि यस्ता अमर्यादित टिप्पणी देखिएको हुन सक्दछ । जे होस, यसको मूलमा कारण के हो भने नेपाली हिन्दू समाजको सभ्यता र संस्कृति र भारतीय हिन्दू समाजको सभ्यता र संस्कृतिमा गहिरो अन्तर छ, जुन कुरा सबैले बुझनु जरुरी छ ।
दुवै देशका हिन्दुका धार्मिक पुस्तक र धर्म कर्ममा अन्तर छैन, शास्वत मूल्य र मान्यताहरु यौटै हुन् । तर दुवैको सभ्यता र सामाजिक संस्कृतिमा अन्तर छ । नेपालमा पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसले चाहे जुनसुकै जाति धर्मको होस हावापानी र वातावरणले गर्दा सबले मासु र रक्शी खाने चलन चलेको हुनु पर्दछ । कुखुरा र अन्य चराचुरुंगीका साथै खसी बोका भेडा च्यांग्रा सुंगुर बंगुर र राँगा सम्मको मासु खाने चलन छ । त्यसैको देखासिकी अन्यत्र पनि मासु र रक्शी नेपालीको प्रिय भोजन हुन पुगेको होला र पहाडी समुदायमा सबै जाति मान्सभक्षी छन् । यहाँ यो जातिले मासु अथवा यो चीज खानु हुँदैन भनेर जातीयताको आधारमा धार्मिक, सामाजिक निषेधित परम्परा सार्वजनिक जानकारीमा देखिदैन । यो समुदायका चाड पर्व र अतिथि सत्कार भनेको मासु रक्शीको भोजन हो । चारै वर्ण मध्ये कोई कसैले कुनै मासु खाँदैन भने त्यो उसको निजी कुरा हो । व्यक्तिको निजी व्यवहारले जातिय चलनको प्रतिनिधित्व गर्न सक्दैन । यस कारण ऊ शाकाहारी भएपनि उसको परिवार या जातीय समूहलाई मंाँसाहारी समुदायदेखि पृथक राख्न सकिदैन । तसर्थ पहाडी समुदायमा जसलाई समान्यतया नेपाली संस्कृति भन्ने गरिन्छ , बाहुनलेपनि खुलेआम कत्तिपनि नहचकेर मान्स भक्षण गर्दछन् र कतिपयले त मासु रक्शीका पसल नै खोलेका छन् । यो नेपालको आफनै परम्परागत सभ्यता र संस्कृति भएकोले यसको पक्ष या विपक्षमा तर्क वितर्क गर्नु निरर्थक र अनुचित हुन्छ ।
तराईमा मिथिला पहाडी इलाका र ठण्डी ठाउँ नभएपनि मैथिल बाहुनले कोई अपवाद बाहेक बाकी सबैले मासु खाने परम्परा छ । तिनको जातीय समूह पनि माँसाहारी हो तर त्यो पनि वेदनिष्ठ समुदाय हो र तिनका शास्त्र र मूल्य मान्यताहरु पनि एयटै हुन् । मैथिल सभ्यता भिन्न भएपनि आहार संस्कृति भने पहाडी समुदायसंग मिल्छ । यो वहाँहरुको आफनो संस्कृति हो त्यसमा पनि टीका टिप्पणी गर्नूृ अनुचित हुन्छ । यस कारण नेपालमा जनसंख्याको आधारमा होटलमा चिया नास्ता र खाना खानपीन गर्नेहरुको संख्या मध्ये शाकाहारीको संख्या अति नै न्यून रहेकोले जनसंख्याको आधारमा छुट्टै शाकाहारी होटलको उपलव्धता नगण्य हुनु स्वाभाविक छ ।
ग्राहक नै नभएपछि होटल खोलने किन ? यस कारण केही विशेष होटेल रेस्टुरेन्टमा बाहेक अन्यत्र त साधारण चिया पसल सम्ममा माछा, मासु रक्शी पाइन्छ । त्यस्ता होटेलमा कसैले चोखो शाकाहारी खाना मागि हाल्यो भने माँसाहारी भाँडा बरतनमा पाकेको र प्रायः एउटै डाडु पनियोको प्रयोग या लसपस भएको , माँस खाइएकै थाल प्लेट र गिलासमा खाना पानी दिने हुन्, पस्केको थालमा मासु हुन्न त्यति त हो । अरु तिनले के नै गर्न सक्छन् । यो तिनको बाध्यता पनि हो । एउटा उखान छ– “चील के घोंसले में चन्दन की लकडी नहीं, माँस के सडे लोथडे मिलते हैं ।”
अब भारतीय सामाजिक संस्कृतिको कुरा गरौं । त्यहाँ चार वर्ण मध्ये ब्राह्मण वर्णमा मासु रक्शी, जुवा तास निषेधित छ खानु हुँदैन भन्ने परम्परागत सामाजिक मान्यता छ । तसर्थ केही अपवाद बाहेक भारतमा सबै राज्यमा सबै किसिमका भाषा, संस्कृतिका बाहुन जातिका कोई मानिसले मासु माछा खाएपनि अरुले नदेखुन् थाह नपाउन् भनेर डर र लज्जा मान्दछ र सुंगुर र राँगा त कदापि खाँदैन । सुंगुर खटिक र पासी जातिका मानिसले र राँगा मुसमानले खाने भन्ने मान्यता छ । त्यस्तै मान्स भक्षण सामाजिक निषेधको परम्परामा नपर्ने केही अन्य जातिमा पनि मासु नखाने प्रथा विकसित रहेको छ । जस्तै उत्तर प्रदेशमा अहिर,वैश्य, तथा दलित मध्येको पहिलेको चमार र पासी जाति जसलाई अब हरिजन या रैदास भनिन्छ , गुजरातमा पटेल साह आदि लगभग बहुसंख्यक जनता, र सिंधी, मडवारीहरु पनि शाकाहारी हुन्छन् । यस कारण त्यहाँ केही विशेष होटेल रेस्टुरेन्टमा बाहेक अन्यत्र सबै ठाउँका होटेल हरुमा माछा, मासु रक्शी पाइँदैन ।
हामी कहाँ पनि कपिलवस्तु देखि पश्चिमको तराई क्षेत्रमा अवधी संस्कृति भएकोले बाहुनले मासु रक्शी खानु हुँदैन भन्ने जातीय निषेधित मान्यता प्रचलित छ भने यादव, पहिलेको चमार भन्ने जाति अब रैदास, र बनिया –( वैश्य) तथा अधिकाँश कुर्मी जातिकाले पनि मासु रकसी खाँदैनन् जनै या तागाधारी भक्त हुन्छन् । थारु जातिमा पनि भक्त भएर कण्ठी माला लिने तागाधारी हुने तीब्र लहर छ । यस्ता समुदायका मानिसले माँसाहारी बाहुन समेतको भान्साका खाद्य वस्तुलाई आफूले खाने योग्य मान्दैन र प्रायः अस्वीकार नै गर्दछ ।
स्थानीयता र वातावरण संस्कृतिको निर्माणमा निर्धारक तत्व हुन्छ र सामाजिक संस्कृति र सभ्यताको आधारमा व्यक्तिको मानसिकताको निर्माण र त्यस आधारमा मानवीय गतिविधि संचालित हुन्छन् । समग्रमा नेपाली संस्कृति माँसाहार प्रभावित भएको र नेपाली पर्यटन मानसिकता यूरोपियन अमेरिकन पाहुनामुखी विकसित भएकोले नेपालमा होटेल रेस्टोरेण्टहरुको पनि त्यस्तै विकास भएको हो र तिनमा विदेशीस्तरको सुख सुविधा दिएर धेरै भन्दा धेरै आय आर्जन गर्ने लक्ष्य रहेको छ भने यी भारतीय र नेपालकै शाकाहारी तराईवासीहरुको उद्देश्य तीर्थाटन हो र एक त तिनको खर्च गर्ने क्षमता अन्य विदेशी जस्तो हुँदैन र अर्काे कुरा तिनको सामाजिक सभ्यता र संस्कृति नै भिन्न भएकोले तीर्थालुले नेपाली जुनसुकै होटेल रेस्टुरोन्टमा खानपीन नगर्नु स्वाभाविक छ । उनको यो संस्कृति र आचरणका विरुद्धमा नकारात्मक टिप्पणी गर्नु अनुचित हुन्छ ।
अझ कतिपय त नितान्त कम आयश्रोत भएका नेपाल कै तराईवासी श्रद्धालुहरु पनि मुक्तिको कामना गरेर गाडी भाडा सम्मको जोहो गरेर सत्तु, भुजा चमेना मात्र पोका पारेर तीर्थ गर्न र कतिपय त व्रत बसेर, पैदल यात्रा परिक्रमा गर्दै पनि हिंडेका हुन्छन् । तिनीसंग नेपाली होटेलवालाले केही आशा गर्नु व्यर्थ नै हो । होटेलवाला या अन्य जो कसैलेपनि इनीहरु हाम्रा ग्राहक होइनन् भनेर भद्दा मजाक उपहास गर्नु शोभाजनक हुँदैन । यसबाट मानवीय मधुर सम्बन्ध दुष्प्रभावित हुन सक्दछ । भारतीयहरुका कुरा छोडौं , व्यवसायीहरुको यस्तो स्वभाव र खर्चको मात्रा थाहपाएका तराईका नेपालीहरु नै पहाडका पर्यटकीयस्थलहरुमा बहुत उल्लास र उमंगका साथ जान सकिरहेका छैनन् भन्ने कुरा कसैको अध्ययनमा आए जस्तो लाग्दैन ।
दुइ देशका र अलग अलग सामाजिक संस्कृतिका हिन्दू हिन्दू समुदाय का बीचमा पनि सामाजिक सांस्कृतिक र ठूलो आर्थिक विषमता छ भन्ने कुरा बुझनु पर्दछ । यस्तो बुझाइृले देशलाई प्रतिष्ठा र श्रद्धा प्राप्त हुन्छ जोकि व्यक्तिगत लाभ भन्दा ठूलो कुरा हो । नेपाली पर्यटन क्षेत्रले पर्यटन विकासको स्तुतिगान गरिरहेको धेरै भयो तर प्रकृतिले देशलाई दिएको उपहारबाट देशले चाहे जस्तो लाभ पाएको छैन । नेपाली पर्यटनले विश्वको सबभन्दा बढी जनसंख्या भएको र सब भंदा धेरै हिन्दू भएको देश भारतबाट पर्यटक आकर्षित गर्न सक्यो र आन्तरिक पर्यटनलाई पनि उत्साहित गर्न सक्यो भने बिना खासै लगानी मनग्य लाभ लिन सक्दछ भन्ने कुरा बुझनु जरुरी छ । यो कुरा यो क्षेत्रका सरोकारवालाहरुले किन बुझदैनन् र अहिले भैरहेको अपशव्द र तिरस्कार गर्ने व्यवहार र बानी व्यहोरालाई किन दुरुत्साहित गर्दैनन् ? पर्यटकलाई आकर्षित गर्ने कुरा मात्र गर्नेहरुबाट त्यस्तो काम किन भैरहेको छैन ? हिन्दीमा एक उखान छ –“मरनेको दिल करे, कफन से डर लगे” । प्रकृतिले स्वयं नेपाललाई पर्यटकीय रमणीयताको वरदान दिएकी हुन् यो अनमोल चेकलाई भँजाउने बुद्धि लगाउनु जरुरी छ । यसकालागि निम्नलिखित व्यवस्था गर्न लाभदायक हुन सक्दछ ।
१, हटारुकालागि बनाउने गरेका साधारण मानिस बस्ने भात पकाएर खाने किसिमका टीनका लामा टहरा बनाउने । पर्याप्त शौचालय र खानेपानीको व्यवस्था गर्ने ।
२, धर्मशालाहरु बनाउने र गाडी पार्किंग स्थान बनाउने ।
३, सवारी साधनको भंसार अस्थायी पैठारी दर घटाउने । सीमावर्ती शहरहरुमा गाडी राखेर सार्वजनिक सवारी,या हवाई यात्रा गर्नेकालागि सवारीसाधन राखने सुरक्षित स्थान दिने ।
४, धार्मिक मठ मन्दिर नजीकका होटेलहरुमा मासु माछा रक्शी निषेध गर्ने ।
५, सीमावर्ती भंसार र प्रहरी टीम तथा बस चालक, परिचालक सहयोगीहरुलाई पर्यटनबाट राष्ट्र्हितको बोध हुने ज्ञान र मानवीय व्यवहारको तालीम दिने ।
(लेखक पूर्व प्रशासनिक अधिकारी, प्राध्यापक, राजनीति र दर्शनशास्त्रका अध्येता अधिवक्ता हुन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *