– अयोध्या प्रसाद श्रीवास्तव
यो पंक्तिकारले नया मुलुकको इतिहास लेख्नलागेको चार वर्ष भयो, तबदेखि जंगबहादुरको कुनै शालिक, उनको नामको कुनै जिल्ला, शहर,बजार, पहाड,तप्पा, मौजा, गाउँ, टोल,पंचायत,गा.वि.स,नगरपालिका, गाउँपालिका, बाटो, टोल, चोक, तलाउ, पोखरी, पार्क, वन, या उनको महिमामण्डनको कुनै पुस्तक अथवा काव्य नया मुलुकमा आजसम्म निर्मित नै नभएको, अथवा भएरपनि यो लेखकले फेला पार्न नसकेको हो ? थाह छैन । उनको नाम महामानव को रुपमा त कुरा छोडौं रावण, कैकेयी या कंस जस्ता व्यक्तिको रुपमा पनि समझिने गरिएको थाह पाइएको छैन । उनको जन्म भनिएको मिति अषाढ ४ गते यो २०८३ सालमा पनि सदा झैँ कुनै समारोह, स्मरणदिवस, आदि कुनै रुपमा पनि कहीं कसैले समझेको भन्ने कुरा सार्वजनिक भएको देखिएन । यस्तो अवस्थामा चेतनशील मनको जिज्ञासा र अनुसन्धानात्मक प्रवृत्ति यो कागजमा उत्रिनु स्वाभाविक छ ।
हुन त हाम्रो देशै विचित्रको बन्न पुगेको छ । इतिहास वर्तमानलाई बुझने साँचो र भविष्य को मार्गदर्शक हुन्छ भन्ने कुरा दुनियाका विद्वानले मान्छन् भने मानुन तर हामी त मान्दैनौं भनेर स्वार्थी तत्वहरुले आफनो शासन निष्कंटक बनाई राखन नागरिकहरुलाई अँधेरोमा राखने रणनीतिमा देश कै इतिहास भुगोल पठन पाठन क्षेत्रबाट उपेक्षित गरेका छन् । यो स्थितिमा जंगबहादुरको जीवनचरित्र त त्यसै पनि लोप हुने नै भयो तर आश्चर्यको विषय त राणाकाल र पंचायतमा पनि जंग बहादुरलाई महान मानिएन, किन ? थोरै चर्चा यसको पनि ।
उनी देशहितमा एक महान र स्मरणीय व्यक्ति थिए भन्ने बारेमा यो सानो लेखमा तीन चारवटा कुराको मात्रै संक्षिप्त प्रसंग उठाउन सांदर्भिक ठान्दछु ।
१, जंग बहादुर स्वयं अनपढ थिए भनिन्छ, तर तिनले यातायात, संचार, र व्यक्तिका सुखका साधनहरुको विकास नभएको लगभग अंधकार समयमा पनि अंतरराष्ट्र्यि राजनीतिक सम्बन्धको कूटनीतिक बहुतै ठूलो विशेषज्ञ जस्तै त्यसबेलाको सर्वशक्तिमान राष्ट्र् ग्रेट ब्रिटेन र फ्रान्सको विसं.१९०७ मा यात्रा गरेर लामो समय सम्म त्यहाँ बसेर राजनीति र शक्तिराष्ट्र्हरुको चालको अध्ययन गरे र मित्रता तथा पहिलो दौत्य सम्बन्ध कायम गरे । चीन र भारत जस्ता राष्ट्र् ब्रिटेनको उपनिवेश भैसकेको अवस्थामा उनकै बुद्धिमत्ताले गर्दा नेपाल ब्रिटेनको उपनिवेश हुनबाट जोगियो र आज पनि हामीले हामी कहिल्यै कसैको गुलाम भएनौं भनेर छाती फुलाउने सामथ्र्य बनाई राख्न पाएका छौं ।
२, तत्कालीन बेलायती ईष्ट इण्डिया कम्पनीले राज्य विस्तारको क्रममा सन् १८५७ को भारतको पहिलो स्वतन्त्रता संग्राम जसलाई सिपाही विद्रोह पनि भनिन्छ, त्यसलाई दबाउन जंग बहादुरले ब्रिटिशलाई आफनै नेतृत्वमा सैनिक सहयोग गरे बापत आजको बाँके, बर्दिया, कैलाली र कंचनपुर जिल्लाको भूभाग व्यक्तिगत रुपमा पुरस्कार पाए । यहाँ मलेरिया, हैजा र ठेउलाको महामारी र कालापानी थियो । बोर्डर एरिया र अलि सजिलो ठाउँमा मानिसको छिटपुट बसोबास थियो । यहाँ बस्न आउन कोई तयार थिएन । उनले यसलाई नया मुलुक नाम दिए र नेपालको नक्शामा नेपाली भूमि बनाए । आफना छोराहरुलाई बाँझो पर्ति खर झपटी, झाडी जंगलका फाँटाहरु सफा गराएर बस्ती बसाल्न जिम्मेदार बनाए । यो अनुपयोगी भूमि लिनु भन्दा तिनले अँग्रेजसंग आफू र सन्तानकालागि अन्य कुनै उपहार लिएर यो भूमि छोडन सक्दथे तर तिनले देशप्रेम देखाए आफनो उपहार देशको क्षेत्र विस्तारमा खर्चे । नेपाल भारत बीचको सीमा पनि ठीक गरे । तिनको देशप्रेम अतुलनीय छ ।
३, नेपालको इतिहासमा तिनले विसं.१९१०मा पहिलो पटक सुव्यवस्थित लिखित कानून पुस्तकको रुपमा मुलुकी एैन देशलाई दिए ।
४, सन् १८४८ को ईष्टइण्डिया कम्पनी सरकार र पंजाब केशरी महाराजा रणजीत सिंहसंगको युद्धमा रणजीतसिंहको मृत्यु भएपछि चुनारगढको किल्लामा कैदमा राखिएकी उनकी महारानी चाँद कुँवरि कैदबाट भागन सफल भइन् र जोगिनीको भेषमा नेपाल पुगेर राजनीतिक शरण मागिन् । नेपाल दरबार असाध्य दुविधामा पर्यो । शरण दिने हो भने अँग्रेजसंग दुश्मनी हुने र अबला बिधवालाई शरण नदिनेहो भने हिन्दू राजधर्ममा ठूलो पाप लागन,े हिन्दू धर्मविरुद्ध हुने भएपछि सरकारले महारानीलाई शरण दिने निधो गर्यो र इज्जत प्रतिष्ठासाथ शरण दियो । कम्पनी सरकारले महारानीलाई सुपुर्दगी गरि दिन अनुरोध गर्यो तर जंगबहादुरले हामी शरणको मरण गर्न सक्दैनौं, धार्मिक पाप गर्न सक्दैनौं भनेर जवफ दिएपछि यद्यपि कम्पनी सरकार रिसायो तर तिनले यस्को वास्ता गरेनन् र आफनो धर्ममा अडिग रहे ।
५, जंगबहादुरले थप दुइजनालाई शरण दिएको घटना अचम्मका छन् । जंग बहादुर अँग्रेजहरुको सहायतामा स्वयंनै लखनऊका आक्रमणकारी र राजमहल सहित लखनऊको लूट गराउने र शासन समाप्त पार्ने प्रमुख पात्र हुन् । राजनीतिमा यस्तो हुन्छ पनि । त्यहींकी महारानी एक मुश्लिम महिला, बेगम हजरत महल त्यही घटनाबाट पीडित अँग्रेजसंग युद्ध लडदै लुकदै छिप्दै अंतमा कतै जोगिने ठाउँ नपाएपछि हताश निराश अवस्थामा नेपाल पुगेर तिनै शत्रु व्यक्ति जंगबहादुर राणासंग शरण माग्छिन् र ब्रिटिशका भक्त वफादार जंगबहादुरले त्यसबेला न अँग्रेजको मित्रता देख्छन्, न अँग्रेजसंग हुन सक्ने शत्रुतासंग भयभीत हुन्छन् र न त शरणार्थी महिलाको जाति धर्म र उनको शत्रुता नै देख्छन् । तिनले केवल सनातन धर्मको सिद्धान्त मात्र देख्दछन् र बेगम हजरत महललाई उनको फौज सहित सबलाई शरण दिन्छन् । बेगमको चिहान काठमाण्डूमा मस्जिद पछाडी मौजूद छ ।
६, त्यही घटनाक्रमका अर्काे राजा जोतसिंहले पनि शरण माग्दा त्यही स्थितिका त्यस्तै व्यक्तिलाई आफनो राज्यमा शरण दिन्छन् तिनका संतान कुँवर बब्बनसिंह सपरिवार आजपनि नेपालगंज ढोंढेगाउँमा छन् । दुवै शरणार्थीहरु एकलै होइन, उनको लावा लश्कर पनि साथमा हुन्छ । भनिन्छ जंग बहादुर अनपढ थिए, तर ई दुई घटनाले तिनलाई इतिहासमा महाज्ञानी बनाएको छ । उनी राजनीति, धर्मनीति जानेका भारदारहरुको सानिध्यमा धर्मपूर्वक शासन गर्ने एक कुशल शासकको रुपमा देखा पर्छन् । यो नेपालीको गौरव गाथा हो । (मेरो प्रकाशोन्मुख इतिहासको किताबबाट)
अनि तिनलाई किन स्मरण गरिदैन त ? राजा महाराजाको इतिहास प्रायःतत्समयको शक्तिको छायामा लेखिएको हुन्छ र कसैका स्मरणीय दिवसपनि साधारणतया जनताको स्वविवेकीय सक्रियतामा चिरकालिक र विस्तारित रुप लिन गाह्रै हुन्छ । उनीमाथि कोतपर्व र भण्डारखालपर्वको आरोपले गर्दा उनको छवि राम्रो थिएन भन्ने तर्क उपस्थित हुन सक्दछ । तर हामीकहाँ सरकारी धन सम्पत्ति र अभिलेख स्वाहा पार्ने र थुप्रै मानिसको हत्या र हिंसाका आरोपीहरु पनि जननायक, महानायक, युगनायक बनाइएका छन् र मान सम्मान पाएका छन् भने त्यसको तुलनामा जंगबहादुरले घटाएका घटनालाई कुकृत्य भन्नु उचित नहोला ।
वास्तवमा जंग बहादुर जतिसुकै शक्तिशाली भएपनि उपलव्ध एैतिहासिक सामग्रीको अध्ययन गर्दा शक्ति र सत्ताको बाँडफाँडमा भाई भतिजाहरुसंगको आन्तरिक रिसराग र पछि वंशपरम्परामा व्याप्त हुन गएको ऊँचनीचको भेदले राम्रोलाई पनि राम्रो नभन्ने वातावरण बन्न गएकोले, र संभवतःत्यस युगमा काम नलागने कालापानी भनिने भूमि मूल्यवान नमानिएकोले पनि राणाकालमा तिनलाई कुनै ठूलो काम गरेको भनेर नमानिएको हुन सक्दछ ।
पंचायतकाल को तीस वर्षमा यद्यपि शासनतन्त्रमा पहिलो पटक प्रजातान्त्रिक मूल्य र मान्यताहरुलाई राज्यको नीतिमा समाविष्ट गरेर जनआकांक्षाको कदर गर्ने अभ्यास त शुरु भयो तर यो अवधि राणाहरुको निरंकुशता र एकाधिकार विरुद्धको प्रचार र उनीहरुलाई गाली गर्ने काल पनि भएकोले यसमा जंग बहादुरलाई समझिने कुरा नआएको होला ।
बाँकी रह्यो २०४७ देखि अहिले २०८३ सम्मको ३६वर्ष । समग्रमा यो कालपनि आफनो पूर्ववर्ती शासन व्यवस्था र शासनाधिकारीको आलोचना गरेर आफनो श्रेष्ठताको प्रचार गर्नुकासाथै, आफनो शक्ति विस्तार ,दलीय आफन्तेहरुलाई नाम, यश, पद, प्रतिष्ठा,र धनको बाँडफाँड, देशकोलागि लगानी गरेका व्यक्तित्वहरुको शहर, चोक, सडकको नामको पूर्ववर्ती संस्थाको निर्णय उल्टाउने, नाम मेटाउने, शालिक र बोर्ड हटाउने र आफन्तेको नाम दिएर सोझो जनतामा आफनो वीरत्वको प्रदर्शन गर्ने व्यस्तताको समय रह्यो । यसदेखि फुरसत पाएर राष्ट्रीय विभूतिहरुको निष्पक्ष नाम खोतल्ने र स्मरण गर्ने बेफुर्सदी समय मान्न सकिन्छ । धान रोपाईको चटारो भए जस्तै । अगुवाहरुको यस्तो कार्यव्यस्तता र वाल्ल परेर हेरिरहेको जनता, अनि जंगबहादुरलाई समझने कसले ? लेखकले किताब लेख्दा मनमा प्रश्नको घोचाईले उत्तरको खोजीमा उनको स्मरण हुनु र जाने बुझेका मान्छेसंग जानकारी पाउने अपेक्षा लिनु स्वाभाविक र छुट्टै कुरा हो ।
हुन त समस्त नेपाल र नेपालीकालागि, अथवा वहाँलाई अरुहरुले एकछिनकोलागि बिर्से पनि,र आज सम्मको इतिहासले वहाँलाई सामान्य मान दिएपनि यथेष्ट मान दिन नसकेको, तर, यो राप्ती,सरयु,कर्णाली महाकालीको पावन भूमि नया मुलुककोेलागि त प्रधानमंत्री स्व. जंगबहादुर राणा प्रातःस्मरणीय नै छन् । यस क्षेत्रका जान्ने बुझने मानिसले “देशको माटोको मान्छे ” लाई विस्मरण गरेर कृतघ्नीको पगरी लगाउन सुहाउँदैन । जंगे पिलर खडा गर्ने महान वीर तेजस्वी राष्ट्र्वादी जंग बहादुर राणा को २०९ औं जन्मजयन्तीमा एक साता ढिलो भएपनि हार्दिक श्रद्धान्जलि ।
(लेखक पूर्व प्राध्यापक,प्रशासनिक अधिकारी,राजनीति र दर्शनशास्त्र का अध्येता, अधिवक्ता हुन) ayodhya.p.shrivastav@gmail.com