मन्त्र विज्ञान

सर्व साधारणको सामान्य बुझाईमा मन्त्र भनेको हिन्दु धर्म र दर्शनको मान्यता र व्यवहारको आधारमा एउटा क्रिया हो भन्ने बुझाई रहेको छ अर्थात यो हिन्दू धर्मको विषय हो भन्ने ठानिन्छ । तर वास्तविकता के छ भने बौद्ध, इस्लाम, पारसी, यहूदी लगायत विभिन्न धर्म र जाति जनजातिहरूले पनि मन्त्र शक्तिमा विश्वास राख्दछन् र यसको प्रयोग र पालन गर्ने गर्दछन् । यस कारण मन्त्र हिन्दु धर्ममा मात्र सीमित छैन यसले अन्य तमाम धर्म मत र आस्थाहरूमा विश्वसनीयता प्राप्त गरेको छ । हो, मन्त्रका सम्बन्धमा यसको स्वरूप, शक्ति र प्रभावको बारेमा व्यापक मतभिन्नता भ्रम,विवाद र दुविधा पनि छ तर मन्त्रको अस्तित्व र उपयोगितालाई पूर्ण भौतिकवादीहरूले पनि ठाढै अस्वीकार गर्न हचकिने गर्दछन् । यो विज्ञानको युगमा यस्ता कुराहरूमा विश्वास लाग्दैन भन्नेहरूले “विज्ञान” शब्दको परिभाषा कि त बडो सीमित अर्थमा गरिरहेका हुन्छन् कि त विज्ञान भनेको फिजिक्स, क्यामेस्ट्री र बायलोजी मात्र हो भन्ने भ्रममा फसेर आफ्नो जानकारीको दायरालाई सीमित पारेका छन् तर सबै आग्रह पूर्वाग्रह र आफ्नो सीमित ज्ञानलाई पर राखेर खुला र निरपेक्ष मन बुद्धिको आँगनमा मानव ज्ञानका अन्य शाखाहरू मध्येबाट खोजी गर्दै जाने हो भने मन्त्र विज्ञानलाई विज्ञानको रूपमा फेला पार्न सकिन्छ । मन्त्रलाई यद्यपि धर्म सँगसँगै राखेर हेर्ने प्रचलन छ तर यो दृष्टिकोण नै मिथ्या हो किनकि प्राचीन कालमा नैतिकता,मान्यता, आस्था, भाषा, व्यवहार, नीति, राजनीति, दर्शन, पद्धति र धर्म जस्ता क्षेत्रहरू एउटै छातामुनि राखिन्थे र आजको जस्तो ज्ञानका अलग अलग विषयगत अलगाव हुन सकेको थिएन । यसकारण हिन्दु, इस्लाम, बौद्ध,जैन,इसाइ आदि जति पनि धर्महरू छन् तिनले मानिसको जीवनको सम्पूर्ण आवश्यकता, विविध पक्ष, समस्या र समाधानलाई एक अर्कासँग सम्बन्धित र पूरक मानेर मानिसको समग्र जीवनलाई नै विभिन्न विधि र प्रणालीद्वारा संचालित र व्यवस्थित गर्ने व्यवस्थाको फलस्वरूप मन्त्रलाई पनि धर्मको अंग मानिएको थियो तर आज मानव जीवनबाट अर्थशास्त्र, राजनीति शास्त्र, नीतिशास्त्र, समाजशास्त्र, गणित र विज्ञान, आदि विषयहरू स्वतन्त्र अनुशासनको रूपमा अलग्गिएर छुट्टै अनुसन्धान र अध्ययनका विषय बन्न पुगे जस्तै मन्त्र पनि एउटा स्वतन्त्र अध्ययन अनुसन्धानको विषय बनेको छ र यस क्रममा यसले स्वतन्त्र विषयको रूप ग्रहण गर्दै गएको छ । हुन त मन्त्र विज्ञानलाई पूर्ण विज्ञान मान्ने सन्दर्भमा वैज्ञानिकहरूमा व्यापक मतभिन्नता छ । किनकि कुनै पनि विषयलाई “विज्ञान” बनाउने र मान्ने वर्तमान मापदण्ड “वैज्ञानिक पद्धतिको प्रयोग” हो । विशुद्ध वैज्ञानिक पद्धतिहरूलाई अपनाएमा मात्र कुनै विषयलाई “विज्ञान” भनिन्छ । आजका स्वीकृत विज्ञानहरूमा वैज्ञानिक पद्धतिको प्रयोगद्वारा विभिन्न तथ्यहरू, घटना, प्रक्रिया, अन्तर सम्बन्ध, संगठन र सञ्चार आदिको अध्ययन गरिन्छ । यस्ता अनुभव प्रधान र वस्तुपरक अध्ययनको आधारमा समस्त तथ्य, घटना, प्रक्रिया आदिको व्याख्या गरिन्छ र अन्तमा भविष्यवाणीको क्षमता पनि हेरिन्छ । तर वैज्ञानिक पद्धतिको प्रयोगबाट मात्र अथवा तथ्य आदिको विषयमा पर्यवेक्षण, वर्णन अथवा भविष्यवाणी गर्दैमा कुनै विषय विज्ञान बनीसके पछि पनि एउटा शैक्षिक अनुशासन academic discipline बन्दैन । कुनै पनि विषयलाई एउटा शैक्षिक अनुशासन बनाउनको लागि त्यसमा स्वयंलाई दिशा निर्देश दिने तथा आफै विकसित हुने क्षमता हुनु पर्दछ । एउटा स्वतन्त्र अनुशासनको लागि यो आवश्यक हुन्छ कि उसको आफ्नो विषय क्षेत्र( subject matter)स्पष्ट र सुनिश्चित होस् र सबभन्दा ठूलो कुरा के भने ऊसँग एउटा अनुभवात्मक (empirical), विकसित (developed) तथा रचनात्मक (constructive) सिद्धान्त ( Theory) हुनै पर्दछ र हालसम्म सिद्धान्त लगायत अन्य यस्तै केही विवादहरूको समाधान भै नसकेकोले मन्त्र विज्ञानलाई आजका वैज्ञानिकहरूले एक मतले पूर्ण विज्ञान मानी सकेका छैनन् । यसलाई वैज्ञानिक पूर्णता प्राप्त हुन यद्यपि बाँकी छ तर मन्त्रलाई धर्मको अंग मानी हाल्नु त सर्वथा गलत नै हुन्छ । मन्त्र एउटा विज्ञान हो भन्ने कुरामा केही वैज्ञानिकहरूले विभिन्न तर्क र प्रमाणहरू प्रस्तुत गरेका छन् र कैयौं अनुसन्धान केन्द्रहरूमा मन्त्र विज्ञानमा शोध चलिनै रहेको छ । यूरोपमा, मुख्यतया जर्मनी ,जहां संस्कृत शिक्षा पनि महत्वपूर्ण छ, र ब्रिटेन जस्ता देशहरु तथा भारतका तमाम ठाउं मध्ये शान्तिकुञ्ज हरिद्वारको ब्रह्मवर्चस संस्थान हाम्रो नजिकको सशक्त केन्द्रलाई उदाहरण मान्न सकिन्छ । हिन्दु दर्शनले प्रकृति र पुरूष (भाले र पोथी) बाट श्रृष्टिको उत्पत्ति र संचालन हुन्छ भन्ने मान्यता राख्दछ यसलाई अन्य धर्म र भौतिक विज्ञानीहरूले पनि एकमतले स्वीकार गर्दछन् । शास्त्रीय भाषामा यज्ञ पिता र गायत्री माता भनिन्छ । अम्बर र धरती भनिन्छ,Positive and Negative  को मिलन भनिन्छ । यो अन्तरिक्ष जसरी कि आइन्सटाइनले पनि भनेका छन् पूर्ण रिक्त छैन । रिक्त ठाउँमा ईथर छ भन्ने पूर्व वैज्ञानिकहरूका मान्यतालाई उनले खण्डन गर्दै ईथर त छैन तर “केही छ” भनेका छन् । त्यो “केही” नै अपरमित शक्ति हो भन्ने उनको विचार छ तर अध्यात्मवादीहरूले सम्पूर्ण ब्रह्माण्डमा जे छ त्यही मानवीय शरीरमा छ “यथा ब्रह््माण्डे तथा पिण्डे” भनेका छन् । अर्थात् शरीरमा नस, नाडी, चक्र, गुच्छक, उपत्यका आदि भए जस्तै ब्रह््माण्डमा पनि यी सबै थोक विद्यमान छन् । प्राचीन वैज्ञानिक (ऋषि)हरूले के पत्ता लगाए भने मानव शरीर र प्रकृति दुवै अदृश्य शक्तिद्वारा सम्बन्धित छन् । यी अदृश्य शक्तिको दुइ भाग हुन्छ (१) चेतना (२) क्रिया । क्रिया प्रकृतिसँग सम्बन्धित छ भने चेतना ब्रह््मको अंश हो । जसरी सूर्यको स्थूल रूप आगोको विशाल पिण्ड मात्र हो । (भौतिक विज्ञानीहरूले यतिमात्र मान्दछन्) तर अध्यात्म विज्ञानका अनुसार सूर्यमा चैतन्य प्राण पनि छ, जसले ब्रह्म (सम्पूर्ण प्रकृति)सँग प्रेरणा प्राप्त गर्दछ । अर्थात प्रकृतिको विशालतम पिण्ड सूर्य लगायत अन्य पिण्ड चन्द्रमा, नक्षत्र, तारा निहारिका र समस्त ग्रह उपग्रह यहाँ सम्मकी मानव शरीरले पनि अन्तरिक्ष सहितको समस्त प्रकृतिबाट (ब्रह्मबाट) प्राण प्राप्त गर्दछ । यसै कारणबाट सम्पूर्ण जीव र जगत नै एक आपसमा आबद्ध छन् र Give and take को सिद्धान्तमा चलिरहेका छन् । यो प्राण तत्व विश्व ब्रम्हाण्डमा अदृश्य रहेर प्रकाश किरण भन्दा पनि सूक्ष्मतम अवस्थामा लहराईरहेको छ । जसरी रेडियो र टेलिभिजन स्टेशनबाट आकाशमा फालिएका तरंगहरूलाई तिनीहरूकै समरूप उपकरणको चुम्बकत्वले समात्न सकेपछि मात्र हाम्रो रेडियो र टिभीमा स्टेशन च्यानल अनुसारका ध्वनि र तरंगहरू छनौट भएर प्रवेश गर्दछन् र प्रसारित चीजवस्तु हेर्न सुन्न पाउँछौं । यदि हाम्रा रेडियो टिभीका उपकरणहरूमा अलग अलग गुण र फ्रीक्वेन्सीहरू सेट गरिदैनन् भने हामी केही पनि सुन्न हेर्न सक्दैनौं । प्रशारण स्टेशनहरूबाट वायुमण्डलमा फालिएका तरंगहरूलाई हामीले नांगो आँखा, कानले त्यतिकै ग्रहण गर्न सक्दैनौं । लगभग त्यही सिद्धान्तमा मन्त्रले पनि काम गरेको हुन्छ । अध्यात्ममा सम्पूर्ण विश्व ब्रह्माण्ड र अन्तरिक्षमा एउटा ध्वनि निरन्तर गुञ्जायमान भैरहेको छ भन्ने मान्यता छ । यो ध्वनि तरंगबाट नै श्रृष्टि भएको हो भन्ने छ । यो त शिवको डमरूको नाद हो भनेर धर्मक्षेत्रले भन्दछ तर विभिन्न मत मतान्तरका बावजुद भौतिक या आध्यात्मिक सबै वादीहरूले सम्पूर्ण ब्रह््माण्डमा शब्दको गुञ्ज र यसबाट मुखरित हुने ध्वनिको शक्तिलाई मानेका छन् । यो गुञ्जमा रहेको एबकभतचखभ भ्लभनथ प्राण ऊर्जालाई मानवले आकर्षित गरेर आफ्नो शरीरमा धारण गर्ने विद्यालाई मन्त्र भनिएको हो । जसबाट मानिसले आफ्नो सर्वोच्च विकासमा पूर्णता पाउन सक्दछ । मन्त्र अर्थात सल्लाह या उपाय हो । यो धर्म होइन, उपकरण हो, ज्ञान हो । मन्त्रहरूको शब्दको गठन यस्तो विलक्षण र विज्ञान सम्मत ढंगबाट भएको हुन्छ, जसको विधिपूर्वक शुद्ध उच्चारण गरेपछि अनन्त अन्तरिक्षमा एक विशेष प्रकारको कम्पन हुन्छ । विशेष उद्देश्य र विशेष कार्य तथा अणिमा, लघिमा र गरिमा जस्ता उपलब्धी प्राप्त गर्नका लागि विशेष मन्त्रको उच्चारण गर्नाले एउटा यस्तो ध्वनि तरंग उत्पन्न हुन्छ र पटक पटक उच्चारणले ध्वनिको समूह(गुच्छक) बन्दछ जसले मानव शरीरका केही केन्द्रहरूलाई झन्कृत गर्दछ र आकाशमा रहेको त्यस अनुरूपको तत्वलाई समात्न पुग्दछ त्यो अन्तरिक्षीय ऊर्जा तत्व र शरीरको कम्पित केन्द्र आपसमा जुट्छ । जसरी ब्रह्माण्डमा शक्ति केन्द्रहरू निर्धारित छन् त्यस्तै शरीर (पिण्ड)मा पनि शक्ति केन्द्रहरू निर्धारित छन् । शरीरका यी शक्ति केन्द्रहरूलाई ब्रह्माण्डीय केन्द्रशक्तिको उपलब्धता मन्त्रद्वारा प्राप्त हुन्छ । जसबाट असम्भव देखिने कार्यहरू र अविश्वसनीय–अकल्पनीय कार्यहरू सजिलै सम्पन्न हुन पुग्दछन् । साधारण भाषामा,मंत्र अन्तरिक्षको सजातीय उर्जालाई एकत्रित पारेर त्यसमा डोरी झैं बेरिएर मानिसको पिण्डीय उर्जामा जोडने यन्त्र हो । हामीले मानिस, पशुपंक्षी, रूख वनस्पति लगायत सम्पूर्ण देखिने र नदेखिने पदार्थ समेत जे जो छ सबै थोक पृथ्वीबाट उत्पन्न भएको देख्छौं । यस कारण पृथ्वीलाई माता भन्दछौं तर उत्पन्न हुने प्रत्येक चीजको बिउ ब्रहमाण्डमा छ । जसरी वरको सानो फलमा रहेको सानो बिउ भित्र विशाल वटवृक्ष अदृश्य रूपमा विद्यमान हुन्छ त्यस्तै सबै बिउको पनि बिउ ब्रह्माण्डमा छ । त्यो बिउले शब्दको तरंगबट तरंगित भएर आकार ग्रहण गर्दछ, पदार्थ–वस्तु बन्दछ र एउटा निश्चित अवधि पछि त्यसको अन्त हुन्छ र पुनः अन्तरिक्षमा विलीन हुन पुग्दछ तर त्यसको अस्तित्व भने नष्ट हुँदैन त्यो बीज रूपमा त रही रहेकै हुन्छ । त्यो अदृश्य तत्वलाई पनि मन्त्रशक्तिबाट आकर्षित गर्न सकिन्छ । अर्थात अन्तरिक्षमा सून्यतामा पनि विद्यमान रहेको आइन्सटाइनले भनेको “केही”, र अणुलाई फुटाएर परमाणुमा लग्दा पनि त्यस भित्र तेज गतिशीलता (शून्य नै नाचेको) फेला परेको त्यो “शून्य” र “केही”लाई “शब्द” अथवा ब्रह्मतत्वको माध्यमबाट बुझ्न खोजेको भए सम्भवतः केही परिणाम आउँथ्यो कि ? यो ब्रह्मतत्वको बुझाईका लागि श्रोत केन्द्र भनेको प्राचीन ग्रन्थहरू हुन् जसलाई धर्म ग्रन्थ भन्दछन् । “धर्म” अर्थात “धारण गर्ने योग्य” र ग्रन्थ भनेको “गाँठो” यसलाई फुकाउन नसक्ने, नचाहनेहरूले धर्मग्रन्थको अवहेलना गरे । अर्काे विडम्बना यो रह्यो कि प्राचीन हिन्दु धर्मग्रन्थहरू(समग्र जीवनोपयोगी नीति नियम ,जीवन दर्शन,तत्व र ज्ञान विज्ञानको संग्रह) तत्कालीन समाजमा प्रचलित संस्कृत भाषामा भए जस्तै अन्य भाषाका ग्रन्थहरूको पनि लगभग यस्तै गति रहेकोले भाषालाई पनि धर्म कै अंग मान्नेहरूले प्राचीन शास्त्रहरूमा समाधान खोजीगर्न नै गाह्रो मान्दछन्, यद्यपि ब्रिटेनमा संस्कृत धर्मग्रन्थहरूमा शोध कार्य धेरै पहिले देखि भैरहेको र जर्मनीले त संस्कृत भाषाको पठन पाठनमा नै अग्रसरता देखाएको तथा अमेरिकामा पनि यस विषयमा वैज्ञानिकहरूले रूचि लिईरहेको समयमा, नेपाल, जसको राष्ट्रभाषा नेपालीको जननी भाषा नै संस्कृत हो , यहाँ नै केही राजनीतिज्ञहरूको सर्वाधिकारवादी सोंच र जनतालाई ज्ञान विज्ञान देखि टाढा गरेर,अंधकारमा राखेर शासन गर्ने हिटलरी आकांक्षाका फलस्वरूप संस्कृतको अध्ययन अध्यापन नै नराम्ररी दुष्प्रभावित हुन पुगेको छ । केही वर्ष पहिलेको कुरा हो, अमेरिकाले जामुनलाई औषधि पेटेन्ट कानुन बमोजिम पेटेन्ट गराई रहेको खबर पाएर भारतका वैज्ञानिकहरूले आपत्ति प्रकट गर्दा अमेरिकाले त त्यो भन्दा पहिले नै बेसार, नीम र तुलसी समेत पेटेन्ट गराई सकेको खुलासा भयो अनि भारतीयहरूले यी त हाम्रा वन वनस्पति हुन् अमेरिकाले पेटेन्ट गराउन पाउँदैन भनि हो–हल्ला मचाएका थिए । ठिक्क त्यस्तै जर्मनी, इंगल्याण्ड र अमेरिका जस्ता राष्ट्रहरूले वेद पुराणहरुमा अध्ययन अनुसंधान गरेर मन्त्र विज्ञानलाई एउटा विशुद्ध विज्ञानको रूपमा प्रतिष्ठित गरि सक्ने छन् र मन्त्र शक्तिबाट उर्जा संकट लगायतका विभिन्न क्षेत्रका तमाम समस्याहरूको समाधानमा जब अग्र पंक्तिमा उभिने सक्दछन् तब तिनको अगुवाईमा नेपाली अध्येताहरूले “राम रामौ रामः” संस्कृतको ककहरा पढ्न शुरू गर्ने होलान् र आफ्नै पुर्खाको नासो र सांस्कृतिक सम्पदालाई विदेशीले नेपालमा अनुदान दिएपछि र विदेशीबाट पढ्न पाएपछि दंग पर्दै आफूलाई भाग्यमानी ठान्ने अवस्था आउन सक्दछ । यो कस्तो विडम्बना हो ? हाम्रो वैज्ञानिक विकासको जरो नै उखेलेर फाल्नु भनेको नेपाल र नेपालीको बृहत्तर हित विपरीत छ र भावी पुस्ताको ज्ञानको श्रोत सुकाउनु अपराध पनि ठहरिन सक्दछ । तसर्थ मन्त्रको स्वरूप र मन्त्र शक्ति माथि अविश्वास गरि हाल्नु भन्दा यसमा अध्ययन गर्नु महत्वपूर्ण पक्ष हुन्छ । मन्त्रका साथमा तान्त्रिकता र पाखण्डले पनि प्रश्रय पाएको छ यो कुरा सही हो तर यस विषयमा सतकर्ता नै अपनाउन नसकने भन्ने कुरा आउंदैन । मन्त्रका मन्त्रज्ञहरूले विभिन्न संख्यामा जप गरेर परिणामको लोभ देखाउने र आशावादी बनाउने गरेकोले ठगीका तमाम घटना घट्दछन् । मन्त्र वास्तवमा एक वैज्ञानिक क्रिया हो तर यो क्रिया प्रयोगकर्ताको भावनासँग जोडिनु पर्दछ । मन्त्र पढेर मात्र उपलब्धि हुँदैन प्रयोगकर्ता यदि उच्चस्तरीय साधक छ र उसले तपश्चर्यालाई माध्यम बनाएर मन्त्र उर्जालाई अन्तरिक्षबाट तानेर ल्याउन सक्ने क्षमता विकसित गरेको छ भने मात्र मन्त्र उपलब्धिपूर्ण हुन सक्दछ । भनाईको तात्पर्य के भने वैज्ञानिक उपकरणलाई उसका सबै विधि र प्रणालीका साथ उच्चस्तरीय तपस्या साधना, मनोवल र दृढताका साथ प्रयोगमा ल्याउन सक्नु पर्दछ । दशरथले पुत्रोष्टि यज्ञ गराउनु पर्दा उच्चस्तरीय साधक राजगुरू वशिष्टले त्यो यज्ञ आफुले नगरेर श्रृंगि ऋषिबाट गराउन पठाएको पौराणिक कथाले पनि मन्त्र प्रयोग गर्ने पात्रता आर्जित गरेको साधकले मात्र मन्त्र प्रयोग गर्नु पर्ने वैज्ञानिक तथ्य रहेको कुरा थाह हुन्छ । मन्त्र एउटा वैज्ञानिक तथ्य हो यस कारण यसलाई यस्तै सूक्ष्म दृष्टिले हेर्नु पर्दछ । यो न त खेल ठट्टा हो न त लापरवाही पूर्वक मंत्र बरबराएर दैवी अनुग्रह (अन्तरिक्षमा लहलहाई रहेको धनात्मक तरंग) आकर्षित भएर इच्छित फल प्राप्त होला भन्ने सोंच नै उचित हो । रकेट उडाउनलाई प्रशिक्षित पायलेट नै चाहिन्छ बयलगाडा हाँक्नेले रकेट उडाउन सक्दैन त्यसो हुनाले मन्त्रज्ञहरूले यो विज्ञानलाई अपाहिज अवस्था देखि मुक्त गर्नु परेको छ । अब यसलाई पूर्ण स्वस्थ र समुन्नत बनाउनका लागि अध्ययन, अध्यापन र अनुसन्धानको आवश्यकता छ ।

2 thoughts on “मन्त्र विज्ञान

Comments are closed.